चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्छ ः महामन्त्री कोइराला

काठमाडौँ, १४ चैत । आउँदो चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्ने नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले बताएका छन । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले बुधबार गङ्गा परस्पुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गुट–उपगुटका कारण पार्टी कमजोर भएको बताएका छन । उनले पार्टी भित्रको गुट–उपगुट अन्त्य गर्ने अभियानमा आफूहरु रहेको बताए । “गुट–उपगुटले पार्टी कमजोर भयो,” उनले भने । आउँदो चुनाव जित्न गुट–उपगुट अन्त्य हुनुपर्नेमा उनले जोड दिए । सबै काङ्ग्रेस एक भए पार्टीलाई कसैले हराउन नसक्ने उनको भनाइ थियो । काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले गुटबन्दी त्यागेर कार्यकर्तामाझ आउन केन्द्रीय नेतृत्वलाई आग्रह गरे । उनले सरकारले सन्तोषजनक काम गर्न नसकेको आरोप लगाए ।
यसैगरी महामन्त्री डा कोइरालाले आफूले पार्टी सुधारका लागि निकै मेहनत गरिरहेको बताएका छन । पार्टीमा सबैलाई एकताबद्ध गरी बलियो पार्टी बनाउन आफूले मुख्य भूमिका निर्वाह गरिरहेको उनको जिकिर थियो । प्रेस युनियन दाङले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा काङ्ग्रेस नेता कोइरालाले पार्टी अध्यक्षको बारेमा धेरै टीकाटिप्पणी आइरहेको भन्दै अध्यक्षले सबैलाई मिलाएर लैजान नसकेको हँुदा अब त्यो जिम्मेवारी आफ्नो काँधमा आएको बताए । “महामन्त्रीको हैसियतले मैले पार्टीलाई एकताबद्ध बनाउने प्रयास गरिरहेको छु र सबैलाई मिलाएर लैजान्छु”, उनले भने, “पार्टीमा केही समस्या छ, अलमल छ अब त्यसलाई संस्थागतरूपमा सफल पार्नुपर्छ ।” उनले अब आउने चुनावमा पार्टी एक ढिक्का भएर जनतामाझ जाने वचनबद्धतासमेत व्यक्त गरे । नेता कोइरालाले दुई तिहाइको वर्तमान सरकार पूर्णरूपमा असफल भइसकेको आरोप लगाए । उनले जनतामा जागेको आशा सरकारको कार्यशैलीका कारण निराशामा परिणत भएको बताए ।
यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई तराई मधेशले नै जन्माएको बताएका छन । धनुषाको शहीद नगर नगरपालिकामा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई काङ्ग्रेसको प्राण भएकाले आगामी दिनमा उक्त सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए । उनले वर्तमान सरकार र मधेशवादी दल मधेश विरोधी भएको आरोप लगाए । वर्तमान सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारामै सीमित भएको नेता पौडेलको भनाइ थियो । अहिले समृद्ध मधेश बनाउन पानी जहाज होइन सिँचाइको आवश्यकता छ । मधेशलाई बचाउन चुरे संरक्षण आवश्यक रहेको बताए ।
त्यसैगरी नेपाली काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले संवैधानिक परिषद्को सोमबार भएको निर्णय सच्याउनु पर्ने धारणा व्यक्त गरेका छन्। नेपाली काङ्ग्रेस मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले राज्य सहमतिको आधारमा सञ्चालन होस् भनेर संवैधानिक व्यवस्थाअनुसार प्रतिपक्षी दलका नेता परिषद्को पदेन सदस्य राखिएकाले सोहीअनुसार सहमतिको आधारमा निर्णय हुनुपर्ने बताए । नेपाली काङ्ग्रेसका उपसभापतिसमेत रहेका नेता गच्छदारले नेकपा विप्लव समूहलाई वार्ता र छलफलमा ल्याउने राज्यको जिम्मेवारी भएको बताउँदै मुडभेड र द्वन्द्वबाट मुलुकमा समृद्धि कायम हुन नसक्ने बताए । वर्तमान संविधानलाई स्वीकार्य र सर्वमान्य बनाउन विगतमा मधेशवादी दलसँग स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नेपाली काङ्ग्रेसको पनि यही माग रहेको उनले बताए । उपनेता गच्छदारले टिकापुर घटनाका सम्बन्धमा लाल आयोगको प्रतिवेदन सार्वजनिक भएमा नै घटनामा को को संलग्न छन् भन्ने प्रष्ट हुने चर्चा गर्दै जननिर्वाचित रेशम चौधरीलाई अविलम्व जेलबाट रिहा गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *