विप्लव माओवादीका जिल्ला अध्यक्ष, जिल्ला इञ्चार्ज, जनसरकार प्रमुखसहित दर्जन नेता तथा कार्यकर्ताहरु पक्राउ

काठमाडौँ, १३ चैत । नेत्रविक्रम चन्द विप्लव माओवादीका दर्जनौ नेता – कार्यकर्ता पक्राउ परेका छन । तनहुँ, नवलपरासी, म्याग्दी ,चितवन,अछाम,मकवानपुर,इलाम,सुनसरी,भोजपुर र सप्तरीबाट उनिहरु मंगलबार पक्राउ परेका हुन । विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका करिव ६० जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ । तनहुँ जिल्ला प्रहरी कार्यालयले ब्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, ब्यास नगरपालिका–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँको अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन् । सुनार र कुमाललाई उनकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिए । उनीहरूको साथबाट चन्दा रसिद बरामद गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो ।
यसैगरी नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेको ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय पश्चिममा राखिएको छ । यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ । जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिएका छन । मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए ।
यस्तै विप्लव माओवादीका म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मालिका गाउँपालिका–३ का पुनलाई पक्राउ गरेको हो । उनीसँगै मालिका गाउँपालिका–६ दरवाङका रमेश पुन र थमबहादुर पुन पनि पक्राउ परेको म्याग्दी प्रहरीका सूचना अधिकृत ध्रुव शर्माले बताए । पुनद्वय जिल्ला शिक्षक संगठनका सदस्य हुन् । उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको शर्माले बताए । ‘अनुसन्धान भइरहेको छ, के मुद्दा अगाडि बढाउने विषयमा सरकारी वकिलसँग राय लिने काम भइरहेको छ,’ शर्माले भने । यसैबीच, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन लमजुङका अध्यक्ष सुनील कुमाललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । तनहुँका जिल्ला सदस्य अमर बुढालाई पनि घरबाटै प्रहरीले पक्राउ गरेको छ ।
उता प्रहरीले सप्तरीबाट तीन जना विप्लव माओवादीका जिल्लास्तरीय नेता पक्राउ गरेको छ । विप्लव समूहको खोजी गर्ने क्रममा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट नेता पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ६ का नुनुराम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादव छन । तीनै जना विप्लव माओवादीको जिल्ला कमिटी सदस्य हुन् । उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
यस्तै ‘विप्लव’ नेतृत्वको नेकपाका तमुवान संयोजक किसान सिंह तमु गुरुङ पक्राउ परेका छन् । जनपरिषद् तमुवान संयोजक तमुलाई कास्की प्रहरीले लेखनाथबाट पक्राउ गरेको हो ।
केही दिनअघि विप्लव नेतृत्वको नेकपाले लेखनाथ पट्नेरीमा व्यवसायी अजय सुमार्गीको मुक्तिश्री कम्पनीको नाममा रहेको जग्गा कब्जा गरेको दाबी गरेको थियो । २५ रोपनी जग्गामा झन्डा, ब्यानर र विज्ञप्ति टाँसेर कब्जा गरिएको जनाएको थियो । विप्लव नेतृत्वको नेकपाले लेखनाथको एलसिएल टावरमा पनि बम प्रहार गरेको थियो । सुरुदेखि नै विप्लव नेकपामा लागेका तमुलाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।पक्राउ परेका किसान तमु मुक्ति मोर्चा क्रान्तिकारीका केन्द्रीय महासचिव हुन् भने लेखनाथ निर्माण व्यवसायी समिति लेखनाथका पूर्व अध्यक्षसमेत हुन् । उनी मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् । ‘तमुलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको छ । अन्य नेताहरुको पनि खोजि कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरीले जिल्लादेखि प्रदेश र केन्द्रीय सदस्यहरुको लिस्ट तयार पारेर अनुसन्धान गरिरहेको छ ।
यसैबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन । मंगलबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले मुलुकको विकास निर्माणमा अवरोध पु¥याउने र राज्यको सम्पत्तिमा क्षति पु¥याउने जस्ता अराजक गतिविधि त्यागेर वार्तामा आउन विप्लव समूहलाई आह्वान गरेका छन । मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गरे । “अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्छ”, उनले भने, “स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि रोकेर शान्तिपूर्ण राजनीतिक धारमा आउन म विप्लव समूहलाई आग्रह गर्न चाहन्छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *