काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप गर्नेलाई कारवाही गर्ने

काठमाडौँ, १३ चैत । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी हित विपरीत क्रियाकलाप तथा गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको पहिलो बैठकले पार्टी हित विपरीत कार्यमा संलग्नताबारे प्रमाणसहित २०७५ साल चैतसम्म प्राप्त उजुरी उपर मात्र छानबिन गरी कारवाही गर्ने निर्णय गरेको छ । समितिका संयोजक केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले पार्टी हित विपरीतका गतिविधि पार्टी विधान र नियमावली बमोजिम अनुशासन समितिको क्षेत्राधिकार भित्रको विषय हुने भएकाले त्यस किसिमका गतिविधि नगर्न सचेतसमेत गराएको छ । संयोजक आङदम्बेले पार्टी कार्यालयमा प्राप्त उजुरीमासमेत छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइने बताए । “यो शुरुआत हो, समितिको काम गर्ने कार्यविधि बनाएर यस अघिको समितिको तथ्याङ्क पनि अध्ययन गरी काम अघि बढाउछौँ”, उनले भने । पार्टीको केन्द्रीय कार्यसमितिको यही चैत ४ गते बसेको बैठकले केन्द्रीय सदस्य आङदम्बेको संयोजकत्वमा केन्द्रीय सदस्यहरु किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, उमाकान्त चौधरी र धनराज गुरुङ सदस्य रहेको अनुशासन समिति गठन गरेको थियो । विसं २०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न काङ्ग्रेसले यस अघि पनि अनुशासन समिति बनाएको थियो । यस अघिको अनुशासन समितिका संयोजक रमेश रिजालले पदबाट राजिनामा दिएपछि सो समिति विघट्न भएको थियो । तत्कालीन अनुशासन समितिमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्र पाण्डे र हृदयराम थानी सदस्य थिए । पार्टी केन्द्रीय कार्यालयमा ५० जिल्लाबाट करीब ३५० नेता कार्यकर्ताविरुद्ध पार्टी हित विपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परेको थियो । त्यसमध्ये छानबिन गरी करीब २०० जनालाई स्पष्टिकरण सोध्ने निर्णय भएको र त्यसमध्ये १०० जनालाई स्पष्टिकरण सोधेर जवाफ पनि आइसकेको छ । केन्द्रीय सदस्य एवं समिति सदस्य धनराज गुरुङले कसुरका आधारमा पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्बन गर्न सक्ने विधानमा व्यवस्था रहेको जानकारी दिए । काङ्ग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घातलाई पार्टी पराजयको एक प्रमुख कारण मानेको छ ।
यसैगरी काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले काङ्ग्रेसभित्रको एकता र जनतासँंगको सुमधुर सम्बन्धले मात्र काङ्ग्रेसको जीत सम्भव हुने बताएका छन । घोराही उपमहानगरपालिका–१९ को सैँघास्थित मंगलबार लाकुरीडाँडामा सशस्त्र द्वन्द्वका क्रममा मारिएका काङ्ग्रेस नेता स्वर्गीय लालबहादुर घर्ती र माधव रावतको शालीक अनावरण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रमा उनले सो कुरा बताएका हुन । त्यसका लागि गाउँका काङ्ग्रेसलाई एक हुनसमेत महामन्त्री कोइरालाले आग्रह गरेका छन । ‘‘गाउँमा कार्यकर्ता एक भए केन्द्रमा नेता एक नभइ सुख हुँदैन् एक हुनुहोस’’, उनले भने । उनले गाँउ गाँउबाट काङ्ग्रेस एक छ र हुनुपर्छ भन्ने सन्देश कार्यकर्ताले केन्द्रसम्म दिनपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *