विप्लव माओवादीद्धारा चैत्र १६ गते नेपाल बन्दको घोषणा, चैतभित्र विप्लव पक्राउ पर्ने प्रधानमन्त्रीको दाबी


काठमाडौँ, १२ चैत । स्थायी समिति सदस्य सुदर्शनसति देशभर गिरफ्तार नेता कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेकपाले यही चैत्र १६ गते नेपालबन्दको घोषणा गरेको छ । नेकपाका महासचिव महासचिव नेत्र विक्रम चन्द विप्लवले सोमबार राती एक प्रेस विज्ञेप्ती जारी गर्दै ओली सरकारले देशमा सबै पार्टी, नागरिक समाज र अगुवाहरुको विरोधका बाबजुद घोषणा गरेको प्रतिवन्धका विरुद्ध पनि आफुहरुले बाध्य भएर नेपालबन्दको घोषणा गर्नु परेको बताएका छन् । महासचिव विप्लवले ओली सरकारले आफ्नो संकटलाई ढाकछोप गर्न प्रतिबन्धको घोषणा गरेको बताएका छन् ।‘केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ । हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ ।”विज्ञप्तिमा भनिएको छ, ”केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।’’विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल बन्द हाम्रो चाहना नभई फासिवादी दमनका विरुद्ध बाध्यता भएको जानकारी आमजनतामा गराउन चाहन्छौँ । यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको अवगत गराउँछौँ । यसैगरी केपी वलीको फासिवादी सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको छ । यो कुनै सत्य नभएर विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र हो भन्ने स्पष्ट गर्दछौँ । तथापि हाम्रो बन्द हाम्रै आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएकाले १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन आग्रह गर्दछौँ ।’विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘अन्त्यमा हामी सबै देशभक्त, वामपन्थी, लोकतन्त्रवादी, कम्युनिस्ट, विभिन्न क्षेत्रका उद्योगी–व्यवसायी र आमजनतालाई बन्द सफल पारी केपीको फासिवादलाई प्रतिरोध गर्न विशेष अनुरोध गर्दछौँ ।’
यता प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव चैतभित्र पक्राउ पर्ने दाबी गरेका छन् । विप्लव नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताएका छन । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उनले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट पारेका छन । उनले भने, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उनले भने, उनिहरु सहज भएर आउछन । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ ।’’ (विप्लव) समूहका नेताहरु पक्राउ गर्न थालिएको बताउँदै प्रधानमन्त्री ओलीले चैतभित्र नै नेत्रविक्रम चन्द विप्लव खोरमा हुने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूहरुले कम्युनिष्ट भनेर विप्लवको समूहलाई सहिष्णुता देखाए पनि उनीहरुले भने आफ्ना नेतालाई मार्ने भनेर कार्यकर्ता खटाएको जिकिर गरे । उनले शान्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउनका लागि सरकारले सबै पक्षसँग छलफल गर्दै सहमति गराउन थालेको जानकारी दिए । प्रधानमन्त्री ओलीले भने हाम्रा कमरेडहरुको हत्याको प्रपञ्च रच्नेहरु त्यसै कहाँ घुम्न पाउँछन?’ प्रधानमन्त्री ओलीले भने,‘कमरेडहरु ढुक्क भए हुन्छ । विप्लवलाई नियन्त्रणमा ल्याएर सुधार गर्छौ । ’पृथकताबादी नेता वैज्ञानिक सीके राउतलाई मुलधारको राजनीतिमा ल्याएर विखण्डनबाद समाप्त भएको सांसदहरुलाई प्रधानमन्त्री ओलीले जानकारी गराएका थिए । पार्टी एकीकरणमा भइरहेको ढिलाईका विषयमा पनि प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका थिए । ‘पार्टी एकीकरणमा ढिलाई हुँदा हामीलाई पिरोल्नु पर्ने हो तर प्रतिपक्षी दललाई किन चिन्ता लागेको छ?’ ओलीले भने,‘चाँडै एकीकरण प्रक्रिया टुँगिने छ। तपाईहरु जिल्लामा गएर उत्साह ल्याउनुस् । नबुझेको कुरा बुझाउनुस् । केन्द्रमा एकिकरण भएको महिना दिनभित्रै सबै कमिटीको एकता सकिनु पथ्र्यो यसमा अनावश्यक विलम्ब भएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्कने वित्तिकै एकताका सबै काम टुंगिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *