विप्लव माओवादीका कालिकोट इञ्चार्ज, कोसी ब्युरो संयोजक र जनसरकार प्रमुखलगायतका नेताहरु पक्राउ


काठमाडौं, १२ चैत । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज धनराज शाहीलाई कालिकोट प्रहरीले पक्राउ गरेको छ । कालिकोट जुबिया–८ लिबुवाका उनलाई मोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो । शाही कालिकोटमा विप्लव माओवादीले गठन गरेको जनसरकार प्रमुख पनि हुन । शाहीबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद भएको जनाईएको छ । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय थिए । सरकारले गत फागुन २८ गते विप्लव माओवादीका गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले पक्राउ तथा कारबाहीलाई तीव्र पारेको छ ।
यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ । प्रहरीले कारबाही तीव्र पारेपछि जिल्ला सैन्य सह–इञ्चार्ज रमेश चँदारा सुनारले आत्मसमर्पण गरेका छन् । ‘उनले प्रहरीमा नेपालको संविधान मान्छु भनी आत्मसमर्पण गरेका छन । उनलाई हरेक साताको शनिबार प्रहरीमा हाजिर हुने गरी जमानीमा छोडिएको छ । त्यसअघि विप्लवनिकट जन पत्रकार संगठनका इञ्चार्ज कर्णबहादुर विश्वकर्मालाई चैत ७ गते प्रहरीले पक्राउ गरिसकेको थियो । कालिकोट कर्णाली प्रदेशको विप्लव माओवादी प्रभावित क्षेत्र हो । यहाँबाट विप्लवको पार्टीमा पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, भेरी–कर्णाली ब्युरो गरी १३ जना नेताले प्रतिनिधित्व गर्छन् । कर्णाली प्रदेशका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन् । कालिकोटबाट १३ केन्द्रीय र पोलिटब्युरो सदस्य छन्। तीमध्ये कसैलाई जिल्ला, एक भन्दा बढी जिल्ला, प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ ।
यसैगरी नेकपाका कोसी ब्युरो संयोजक पुष्करलाई प्रहरीले गिरफ्तार गरेको छ । पुष्करलाई प्रहरीले आइतबार राति मोरङको कानेपोखरीबाट गिरफ्तार गरेको जानकारी स्रोतले दिएको छ । प्रहरीले पुष्करको गिरफ्तारी पुष्टि नगरे पनि पार्टीस्रोतले पुष्टि गरेको छ । नेकपाका क्षेत्रीय ब्युरो सदस्य पुष्कर मिर्मिरे एफएमका पूर्वअध्यक्ष पनि हुन् ।
त्यसैगरी अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय संयोजक राजु कार्की र पूर्व्विद्यार्थी नेता केदार खतिवडालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।कार्कीलाई सोमबार र खतिवडालाई आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आठ–आठ हजार धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको समाचार प्राप्त भएको छ । ने.क.पा.का नेतासमेत रहेका कार्कीलाई गत फागुन २१ गते राजधानीको सामाखुसीस्थित डेराबाट सादा पोसाकका प्रहरीको टोलीले गिरफ्तार गरेको थियो ।संयोजक कार्की यसअघि पटकपटक गिरफ्तार पर्दै र रिहा हुँदै आएका थिए । महासङ्घ ने.क.पा. निकट किसानहरूको सङ्गठन हो ।नेकपाका ब्युरो सदस्यसमेत रहेका खतिवडालाई प्रहरीले गत फागुन २२ गते काठमाडौँको दरबारमार्गबाट गिरफ्तार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *