‘परान’ बोलको गीत सार्वजनिक


काठमाडौँ । अब ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको गीतले पनि कीर्तिमानी रेकर्ड बनाएको छ । यो गीतले इन्टरनेट रिलिजको २४ घण्टामा १० लाख २४ हजार बढी भ्यूज बटुल्न सफल भएको छ । यसअघि यो रेकर्ड फिल्म ’शत्रु गते’ को नाम थियो । यो फिल्मको ’रुपै मोहनी’ बोलको गीतलाई युट्युब रिलिजको २४ घण्टामा ८ लाख ४७ हजारभन्दा बढीपटक हेरिएको थियो । ’ए मेरो हजुर ३’ को गीत शुक्रवार दिउँसो १ बजे सार्वजनिक भएको थियो । पाँच हजार बढी कमेन्ट प्राप्त गीतलाई ४६ हजार बढीले लाइक्स गरेका छन् । गीत मन नपराउनेको संख्या भने झण्डै ३ हजार छ । गीतको कमेन्टमा अधिकांशले तारिफको पुल बाँधेका छन् । अभिनेता अनमोल र डेब्यू गर्ल सुहाना थापाको केमेस्ट्रीलाई अत्याधिक रुचाइएको छ । यो गीतका कारण फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने फिल्म पण्डितहरुको अनुमान छ । गीतमा आशिष अविरल र अञ्जु पन्तको स्वर छ । गायक अविरलकै शब्द तथा संगीत रहेको गीतको भिडियो निकै आकर्षक ढंगले तयार गरिएको छ । अनमोल र सुहानासँगै सलोन बस्नेत, रेअर राईलगायतका कलाकारहरु गीतको भिडियोमा फिचर्ड छन् । अभिनेता आमेश भण्डारीलाई बेहुलाको भेषमा देख्न सकिन्छ । फिल्मलाई झरना थापाले निर्देशन गरेका हुन् । अर्पण थापा, रक्षा गौतम, विशाल पहाडी, सरोज खनाल, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको यसमा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । चैत २९ मा रिलिज हुने फिल्ममा निर्देशक थापा र सुमन पौडेलको कथा छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत