आगलागीमा ५ घर जलेर नष्ट

काठमाडौँ, ११ चैत । सुनसरी र बागलुङमा भएको आगलागीमा परी ५ घर जलेर नष्ट भएको छ । आगलागी हुँदा ५ घर जलेर रु २० लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहा बजारमा आइतबार आगलागी हुँदा चार घर जलेर रु १२ लाख मूल्य बराबरको सामग्री नष्ट भएको छ । आगलागीमा चार वटा घर र एक वटा चौपया जलेर नष्ट हुँदा १२ लाख बराबरको क्षति भएको हो । स्थानीय रामप्रसाद शर्मा, दिपनारायण शर्मा, बुधनारायण शर्मा र सत्नयारायण शर्माको एक÷एक वटा घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचरका सामग्री जलेर नष्ट हुँदा करीब रु १२ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिएका छन । आगलागीमा स्थानीय बुधनारायण शर्माको एउटा बाच्छीसमेत जलेर मृत्यु भएको प्ररही नायब उपरीक्षक फुयालले बताए । स्थानीय रामप्रसाद शर्माको घरमा गाईलाई खोले पकाउने क्रममा आगलागी भएको थियो । आगो स्थानीयवासी, प्रहरी र इनरुवा नरगपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक फुयालले बताए ।
यसैगरी बागलुङ नगरपालिका– ७ स्थित छरिखोलामा आइतबार एक घरमा आगलागी हुँदा करीब रु आठ लाखको क्षति भएको छ । कुडुँले प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजु बानियाँका अनुसार स्थानीयवासी नवराज गौतमको घर र गोठमा आगलागी भएको हो । गौतमको गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घरमा आशिंक क्षति पुगेको छ । आगलागीबाट अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । आगलागीको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *