सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार, बम विस्फोट र कर्तव्य ज्यानसम्बन्धी मुद्दा,भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख्न प्रम ओलीको आग्रह

काठमाडौँ , ११ चैत्र । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार, बम विस्फोट र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । ‘सुदर्शन’ सहित ९ जनालाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको छ । आइतबार सुदर्शनसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको हो । सुदर्शनका तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारीसहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । सुदर्शनसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।सुदर्शनसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ । उनीहरुलाई ललितपुर प्रहरी परिसरमा फिर्ता लगिएको छ । नेता सुदर्शन लगायत अभियुक्तहरुलाई ल्याउनुअघि एकघण्टादेखि अदालत परिसरमा सुरक्षा चेकजाँच कडा बनाइएको थियो । सादा पोशाकका दर्जनौं प्रहरी त्यहाँ खटाइएको थियो ।अभियुक्तहरुको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता राजु अधिकारीलगायतले बहसमा भाग लिएका थिए । जिम्मेवार राजनीतिक पार्टीलाई बिनाकानून मन्त्रिपषिद्को निर्णयको भरमा संगठित अपराध घोषणा गर्ने र प्रतिबन्ध लगाउन नमिल्ने बहसका क्रममा उनीहरुले जिकिर गरेका छन् । कुनै निजी कम्पनी वा व्यक्तिको निजी जीवनमाथि असर पुर्याउने कसुर गरेको भए त्यससम्बन्धी अलग्गै ऐन कानून रहेको भन्दै अन्तर्राष्टिय स्तरका अपराधीलाई झैं व्यवहार गर्नु कानूनविपरीत हुने जिकिर वकिलहरुले गर्दै आएका छन् । सबैजनाविरुद्ध गत फागुन १० गते साँझ ७२ अर्ब रुपैयाँ लाभकर छलेको आरोप झेलिरहेको नीजी क्षेत्रका मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरको नख्खुमा रहेको कार्यालयमा बम विष्फोट र त्यसमा परी एक जनाको ज्यान गएको घटनाबारे अभियोग लगाइएको छ । यसअघि चैत्र १ गते ललितपुरबाट गिरफ्तार परेका न.क.पा.का पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’लाई राजद्रोहको अभियोगमा काठमाडौंको टेकुस्थित प्रहरी परिसरको हिरासतमा राख्दै आएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले भूमिगत बसेर क्रान्ति गर्छु भन्ने सपना नदेख्न विप्लव समूहलाई आग्रह गरेका छन । उनले धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट, हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने बताए । उनले भने ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।’यद्यपि अहिले पनि विप्लव समूहलाई वार्तामा आउन बाटो खुला रहेको बताए । ‘हतियार बुझाउन समय दिएका छौं । लुरुलुरु बुझाउन आए हुन्छ’ उनले भने, ‘बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, लिन्छ ।’सरकारले चन्दाको नाममा लुटपाट गर्न, बम पड्काउन र विध्वंस मच्चाउन नदिने भन्दै यस्तो कल्पना नगर्न आग्रह गरे ।‘लोकतान्त्रिक अभ्यास आचरणअनुसार सबै चल्नुपर्छ, त्यसमा सरकार एकदमै दृढ छ । अब देशमा यस्तै प्रकारको अशान्तिको श्रृखला जारी रहन्छ कि भन्ने कल्पना नगरे हुन्छ, जारी राख्न सकिन्छ कि भनेर सोचेको छ भने कल्पना नगरे हुन्छ ।’कतिपयले दुई तिहाईको सरकार, दुई तिहाईको सरकार भन्ने गरेको भन्र्दै उनले भने, ‘दुई तिहाईको सरकार हो । जथाभावी हुन दिँदैन, संविधान कानुन अनुसार नियन्त्रण गर्छ ।’सरकारले विप्लव समूहलाई प्रशासनिक ढंगले मात्र समाधान गर्न नखोजेको पनि उनले बताए । श्रीकृष्ण र रामले समेत सुदर्शन चक्र र धनुवाण देखिने गरी बोकेको भन्दै उनले सम्झाउँदा नहुनेलाई हतियारमार्फत कारबाही गर्नुपर्ने बताए ।
यस्तै सरकारले प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही हुने प्रष्ट पारेको छ । जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विप्लव समूहको आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न र सहयोग गर्ने व्यक्ति, संस्था वा समूहलाई समेत प्रचलित कानूनअनुसार कारबाही हुने प्रष्ट पारेको छ ।‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ मन्त्रालयले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *