विप्लव समूहको समस्या वार्ताबाटै समाधान गर्नुपर्छ ः गच्छदार

काठमाडौँ, ११ चैत । नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका उपसभापति एवं पार्टीका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन । प्रतिनिधिसभाको आईतबारको बैठकमा उनले पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरी तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई बृहत् शान्ति सम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको प्रसङ्ग उल्लेख गर्दै विप्लव समूहको समस्या पनि वार्ताबाटै समाधान गर्नुपर्ने बताएका हुन । उनले सरकार सदैव सदनप्रति उत्तरदायी हुनुपर्ने बताए । उनले सार्वभौम संसद्लाई अपमान गर्न नपाइने र सत्तापक्ष सधैँ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । सरकारका काम कारवाहीका सम्बन्धमा सदनमा धेरै कुरा उठे पनि सबै जवाफ नदिएको गुनासो गर्दै उनले भने, “एउटा बालिकाको बलात्कार हुन्छ । हत्यारा पत्ता लाग्दैन । शान्ति सुरक्षाको अवस्था कस्तो छ, आफैँ छर्लङ हुन्छ ।” सरकार गठन भएको एक वर्ष बढी भइसके पनि शान्ति सुरक्षामा सुधार आउन नसकेको आरोप लगाउँदै उनले पटकपटक माग गर्दा पनि पूर्वन्यायाधीश गिरीशचन्द्र लाल संयोजकत्वको आयोगको प्रतिवेदन किन सार्वजनिक भएन भनी प्रश्न गरे । नेता गच्छदारले भने, “सरकारले त्यो प्रतिवेदन सार्वजनिक गरोस् । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । सार्वभौम संसद्लाई अपमान गर्न पाइदैन । सत्तापक्ष जिम्मेवार हुनुप¥यो ।” सिके राउतका सम्बन्धमा नेता गच्छदारले देशलाई विखण्डन गर्नेलाई सङ्घीयता ल्याए पनि विखण्डनको विजारोपण अब हुँदैन भन्ने ग्यारेन्टी गर्नुपर्छ भने । नेता गच्छदारले संसद्मा रहेका राष्ट्रिय सुरक्षा परिषद्को अधिकारसम्बन्धी विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासम्बन्धी विधेयक र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताका हितमा नभएको भन्दै तीनै विधेयक तत्काल संसद्बाट फिर्ता हुनुपर्ने माग गरेका छन ।
यसैगरी नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टी्भित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन । नेपाली काङ्ग्रेस चितवनले आईतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए । काङ्ग्रेसका नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताएका छन ।
यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले विधिसम्मत तरिकाले काङ्ग्रेस पार्टी चलाउन नसकेको भन्दै पार्टीलाई संस्थागत गर्नुपर्ने बताएका छन । झापाको विर्तामोडमा आईतबार कार्यकर्ता भेटघाटमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले काङ्ग्रेसमा केन्द्रीय सदस्य स्वतःमहाधिवेशन प्रतिनिधि हुने व्यवस्था र समानुपातिक सिटमा एकै व्यक्तिलाई आरक्षण दिइरहने प्रवृत्तिको अन्त्य अनिवार्य हुनुपर्ने बताए । काङ्ग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले देश विखण्डनको मुद्दा बोक्ने सिके राउतसँग विवादास्पद सम्झौता र विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध गरेर सरकारले देश विखण्डनतर्फ लैजान लागेको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *