गिरफ्तारी र धरपकडविरुद्ध क्रान्तिकारी माओवादी, माओवादी केन्द्र र राप्रपाद्वारा सरकारको आलोचना, विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न सुझाव

काठमाडौँ, १० चैत । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को गिरफ्तारीविरुद्ध गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र), नेकपा (क्रान्तिकारी माओवादी), नेपाली काङ्ग्रेसका वरिष्ठ नेताहरू रामचन्द्र पौडेल, प्रदीप गिरीका साथै राप्रपा नेपालले सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रले विज्ञप्ति निकालेर सरकारको गतिविधि र नेता सुदर्शनको गिरफ्तारीको विरोध गरेको छ । माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी ‘सुशील’ ले शनिबार विज्ञप्ति निकालेर गिरफ्तारीको विरोध गरेका हुन् । उनले नेकपामाथि राजनीतिक व्यवहार गर्नसमेत सुझाव दिएका छन् । सुशीलले जारी गरेको विज्ञप्तिमा गिरफ्तारी र धरपकडको विरोध गर्दै नेता सुदर्शनको रिहाइको माग गरिएको छ । सरकारले आफ्नो असफलतालाई लुकाउन नेकपामाथि प्रतिबन्ध लगाएको उनले बताएका छन् । “विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लगायत ९ जना नेता–कार्यकर्ताहरूलाई चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चेस्थित बोरेनी नजिकबाट सरकारद्वारा गिरफ्तार गरेको विषयले नेपाली राजनीतिमा तरङ्ग सिर्जना गरेको छ । प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनसहित ९ नेता–कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । देशभरिमा नै भइरहेको धरपकडले संविधानले दिएको अधिकारसमेत हनन गरी जनविरोधी क्रियाकलाप प्रदर्शन गर्नु सरकार असफलताको दिशातिर जान खोजेको प्रस्ट संकेत देखिन पुगेको छ”, विज्ञप्तिमा भनिएको छ । राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने थाहा हँुदाहुँदै सरकार त्यही दिशामा बढेको भन्दै सुशीलले सरकारमाथि नै शङ्का व्यक्त गरेका छन् । “देश भ्रष्टाचारले आक्रान्त बनेको, केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय नभई सङ्घीयता चरम सङ्कटमा परेको, दक्षिणपन्थी शक्तिहरू, विदेशी शक्तिहरू, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरूले खुलेआम रुपमा धार्मीक द्वन्द्व सिर्जना गरेको, राष्ट्रियतामा आँच दिने समूहसित अस्वाभाविक सम्बन्ध जोड्नुले देशको स्वाभिमानमाथि असर परेको छ । धार्मिक आन्दोलनलाई वैधानिकता दिने नेकपाको राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले सरकार कसको मतियार भएर काम गर्दैछ भन्ने शङ्का सर्वत्र उत्पन्न भएको छ”, विज्ञप्तिमा उल्लेख छ ।क्रान्तिकारी आन्दोलन दमन र धरपकटबाट नियन्त्रण गर्न नसकिने बरु सरकार आफैँ असफल हुने गरेको इतिहास ताजै भएको बताएको बताउँदै सुशीलले राजनीतिक समस्या वार्ताद्वारा समाधान गर्न आग्रह गरेका छन् ।
यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)ले एक वक्तव्य जारी गरी विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली सुदर्शनको गिरफ्तारीको कडा विरोध एवम् भत्र्सना गरेको छ ।पार्टी महासचिव मोहन वैद्य‘किरण’ले शनिबार एक वक्तव्य जारी गरी नेता सुदर्शन गिरफ्तारीको विरोध एवम् भत्र्सना गरेका हुन् । वक्तव्यमा भनिएको छ, “सरकारद्वारा हालै विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शन सहित ९ जना कमरेडहरुलाई गिरफ्तार गरिएको प्रकाशमा आएको छ । केही समययता सो समूहका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गर्ने र यातना दिने क्रम बढ्दै गएको छ । साथै, सो समूहमाथि प्रतिबन्ध समेत लगाइएको छ । सरकारको यो फासिवादी व्यावहार निन्दनीय छ । र, हाम्रो पार्टी त्यसको कडा विरोध तथा भत्र्सना गर्दछ ।”वक्तव्यमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न, सो समूहप्रति राजनीतिक व्यवहार गर्न, समस्याको समाधान प्रशासनिक रुपमा होइन वार्ताद्वारा समाधान गर्न र नेता कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न पार्टीको तर्फबाट सरकारसित जोडदार माग गरिएको छ ।
यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध गलत भएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । विप्लवमाथिको प्रतिबन्धलाई लिएर काङ्ग्रेसभित्रबाटै फरक–फरक धारणा बाहिर आइरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने मत व्यक्त गरेका हुन् ।दलमाथिको प्रतिबन्धले मुलुकको शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले प्रतिबन्ध लगाउन नहुने नेता पौडेलको मत छ । ‘कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनर्विचार गर्नुपर्छ’, उनले भने । केपी ओली नेतृत्वको सरकार शक्ति केन्द्रीकरणतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको दाबी उनको छ । बहुमतको आडमा यस्ता गतिविधिलाई निरन्तरता दिइरहे काङ्ग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी उनले दिए । ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले लिँदा लोकतन्त्र खतरामा परेको दाबी नेता पौडेलको छ । नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारको एक वर्ष खेर गएको टिप्पणीसमेत गरे । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको भनाइ छ ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री राजाराम बर्तौलाले सरकारले आफ्नो असफलता ढाकछोप गर्न विखण्डनकारी तत्वलाई अँगालो हाल्ने र विप्लवलाई प्रतिबन्ध लगाउने काम गरेको बताएका छन् । मकवानपुरको फापरबारीमा शनिबार आयोजित कार्यक्रममा बर्तौलाले सरकार सर्वसत्तावादको बाटोतर्फ अग्रसर भएको भन्दै आक्रोश पोखे । निषेधको राजनीतिले निकास नदिने भन्दै सरकारलाई सहिष्णु बन्न उनको सुझाव थियो । कमजोर जगमा उभिएको गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता हल्लिन थालेको चर्चा गर्दै बर्तौलाले वैकल्पिक शक्तिका रूपमा राप्रपालाई बलियो बनाउन आवश्यक भएको धारणा व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *