गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्तालाई रिहाइ नगरिए जनप्रतिरोधको कारबाही अघि बढाउने विप्लव माओवादीको चेतावनी

काठमाडौँ, ८ चैत्र । गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्तालाई रिहाइ नगरिए जनप्रतिरोधको कारबाही अघि बढाउने विप्लव माओवादीले चेतावनी दिएको छ ।
सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि बेला जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चेतावनी दिएका छन् । बिहीबार सुदर्शन’ले प्रेसविज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेका छन । ‘सुदर्शन’ ले प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका हुन । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् । ’सुदर्शन’ले वक्तव्य जारी गर्दै सरकार, गृह प्रशासन, गृह प्रशासनअन्तर्गत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको आरोप लगाएका छन् । हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको कुरा पनि सुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासिवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रममले राम्रोसँग पुष्टि गरेको छ । हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फासिवादको भद्दा नमुना हो । फागुन २८ गते हाम्रो पार्टी र नेपाली जनताका लागि कालो दिनका रूपमा इङ्गित भएको छ । पार्टीमाथि प्रतिबन्ध लगाएलगत्तै हाम्रो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलगायत दर्जनौँ कमरेडहरूलाई गिरफ्तार गरिसकेको छ । यही सिलसिलामा पछिल्लो घटना काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ । निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जबाफी गोली चलाएको बकबास गरिएको छ । यो झूट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ । अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादका विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको छ । सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न थालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ । यसकारण हामी यो सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भ्रष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको कुरा आमजनसमुदायमा अवगत गराउन चाहन्छौँ । यसका साथै हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र रिहाइका लागि आदरणीय जनसमुदाय, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ । यो सरकारले उहाँहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुनेछौँ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि उक्त पार्टीका एकजना स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले उक्त प्रतिबन्धको डटेर सामना गर्ने बताएका छन् । सरकारले प्रतिबन्ध लगाएपछि नेता बास्तोलाले आफ्नो पार्टी सरकारी प्रतिबन्धबाट कुनै पनि हालतमा विचलित नहुने भन्दै उक्त प्रतिबन्धका कारण पार्टी, सेना र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित र परिवर्तन नहुने बताएका छन् ।
नेता बास्तोलाले भनेका छन, ‘सरकारी प्रतिबन्धबाट देशमा चलिरहेको जनसत्ताका कुनै पनि एकाइहरू अवरुद्ध हुने छैनन, जनमुक्ति सेनाका कुनै पनि युनिटहरू निष्क्रिय हुने छैनन् र जनवर्गीय सङ्गठनका कुनै पनि संरचनाहरू विचलित हुने छैनन, बरु हाम्रा सबै निकायहरू अझ सशक्त र अझ जुझारु र विस्फोटक हुनेछन् ।’वर्तमान संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यले आफ्नो पार्टी निरन्तर सङ्घर्षमा रहेको बताउँदै आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताउँदै भनेका छन, ‘हाम्रो पार्टीको स्पष्ट नीति रहेको छ– अहिलेको नेपालको प्रधान अन्तरविरोध दलाल पुँजीवादी सत्ता र मुक्तिकामी जनताबीचको अन्तरविरोध हो । यसको समाधान देशका विद्यमान दलाल पुँजीवादी सत्ताको अन्त्य र त्यसको स्थानमा वैज्ञानिक समाजवादी सत्ताको स्थापनाबाट मात्र हुन सक्छ । देशको स्वाधीनता, सार्वभौतिकता स्वतन्त्रता, समृद्धि र निरन्तर परिवर्तनको प्रत्याभूति त्यति बेला मात्र सम्भव हुनेछ जति बेला नेपालको सत्तामा रहेको राजनीतिक व्यापारी र दलालहरूको सम्पूर्ण रूपमा सर्वनास हुनेछ ।’
यस्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध रहेको आशङ्कामा चार जना पक्राउ परेका छन् । सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–४ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै शङ्कास्पद व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *