सरकारद्वारा विप्लव माओवादीलाई वार्तामा आउन आव्हान

काठमाडौं,८ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन सरकारले आव्हान गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णय सुनाउन बिहीबार आयोजना गरिने नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गोलाबारुद बिसाएर वार्तामा आउन विप्लव नेतृत्वको समूहलाई आग्रह गरेका हुन् । ‘विप्लव समूह भनेर चिनिने समूहलाई हामीले सिध्याउने कुरा कहिले ग¥यौं ? हामीले त उनिहरुलाई बमबारुद नबोक्नुहोस, शान्तिपूर्ण तवरले समस्याका समाधान खोज्न सकिन्छ । संविधान भित्रबाटै खोज्न सकिन्छ भनेका हौं,’ बास्कोटाले भने, ‘संवादका लागि सरकार सधैं खुला छ, तर वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ । ’हतियार उठाएर पुनः द्वन्द्व निम्त्याउने काम सरकारले हुन नदिने उनले बताए । ‘द्वन्द्वमा पर्नेलाई थाहा हुन्छ द्वन्द्व कति पीडादायक हुन्छ भनेर,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले भने, ‘सामाजिक समस्या हल गर्न चेतनाको स्तर उकास्नुपर्छ । हतियार उठाएर हुँदैन । शान्तिपूर्ण ढंगबाट संविधान मानेरै जताबाट गिर खेले पनि हुन्छ ।’समाजले स्वीकार गर्न नसक्ने हत्या, हिंसा, चन्दा आतंकजस्ता विषयलाई छाडेर शान्तिपूर्ण वार्तामा आउँदा कोही पनि सानो नहुने बास्कोटाको भनाइ छ । ‘भीरबाट लड्नेलाई रामराम भन्ने हो काँध थाप्न को जान्छ?,’ बाँस्कोटाले पत्रकारहरुलाई प्रश्न गरे, ‘तपाइँहरु जानुहुन्छ?’ विप्लवका गतिविधिमाथ प्रतिबन्ध लगाए पनि सरकारले उक्त समूहलाई सिध्याउन नखोजेको पनि उनले बताए । हिंसा छाड्न पनि प्रवक्ता बास्कोटाले विप्लव समूहलाई आग्रह गरेका छन । ‘हतियार छाडेर, हिंसा छाडेर, चन्दा असुली र निर्दोष मान्छे मार्न छाडेर वार्तामा आउनुहोस,’ उनले भने, ‘मान्छे मार्ने भन्ने कुरा हामी शब्दकोषबाट नै हटाउन चाहन्छौं । तपाइँहरुलाई पनि थाहा छ यो बुद्ध जन्मेको देश हो ।
यसैगरी सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि देश गृहयुद्धतिर जानसक्ने चिन्ता गरिएको बेला नेपाली सेनाले भने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध र उसका गतिविधि नियन्त्रणमा बल प्रयोग घातक हुनसक्ने जनाएको छ । नेकपामाथि प्रतिबन्ध लगााउनुअघि नै सेनाले नेकपाले उठाएका राजनीतिक विषयहरूमाथि राजनीतिक समाधान खोज्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको हो ।विखण्डनकारी सीके राउतलाई समेत राजनीतिक रूपबाट व्यवस्थापन गरिएको भन्दै नेपाली सेनाले नेपाल कम्युनिस्ट पार्टीलाई पनि राजनीतिक व्यवहार गर्न उपयुक्त हुने बताएको छ । नेकपामाथि प्रतिबन्ध लगाउनुअघि नै नेपाली सेनाले सरकारलाई राजनीतिक मुद्दा राजनीतिक रूपबाटै समाधान गर्नुपर्ने सुझाव दिँदै र तत्कालीन १० वर्ष लामो युद्ध पनि राजनीतिक रूपले समाधान गरिएको स्मरण गराउँदै नेपाली सेनाले समस्याको समाधान बलप्रयोगबाट नभई सहमतिबाट गर्नुपर्ने कुरामा जोड दिएको छ ।नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले पनि नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याउन राजनीतिक तवरबाटै समाधान खोज्नुपर्ने पक्षमा नेपाली सेना रहेको सञ्चारमाध्यमलाई बताएका छन् । उनले भनेका छन, ‘राजनीतिक विषयलाई बल प्रयोगबाट भन्दा वार्ता र सहमतिबाट टुङ्ग्याउनुपर्छ । यो नै सबैभन्दा उपयुक्त विकल्प हो । द्वन्द्व व्यवस्थापनसम्बन्धी विगतका नजिरले पनि असन्तुष्ट पक्षलाई वार्ता र सहमतिबाटै टुङ्गोमा पु¥याएको स्पष्ट छ ।’स्मरणीय छ फागुन २८ गतेदेखि सरकारले नेकपालाई प्रतिबन्ध लगाएको छ । यसैबीच नेकपाका महासचिव विप्लवले क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी र राष्ट्रभक्त सेना–प्रहरीलाई समेत राष्ट्रियता रक्षाका लागि लड्न आह्वान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *