समृद्धिका लागि विदेशी लगानी आवश्यक ः पूर्व अर्थमन्त्री महत

काठमाण्डौ, ८ चैत । नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा. रामशरण महतले बताएका छन । बिहीबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले वर्तमान सरकार विदेशी लगानी भित्र्याउन सक्षम नरहेकोे दाबी गरेका छन । पूर्व अर्थमन्त्री समेत रहेका नेता महतले नेपालको समृद्धिका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसका लागि सरकार सक्षम नभएको दाबी गरे । सरकारले वैदेशिक लगानी भित्र्याउन यही चैत्र १५ र १६ गते काठमाण्डौमा ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ । तर कांग्रेस नेता महतले सो लगानी सम्मेलनबाट वैदेशिक लगानी भित्र्याउन सरकारले आवश्यक पूर्वाधार विकास नगरेको दाबी गरे ।सडक, एयरपोर्टलगायतका भौतिक पूर्वाधार तयार नपारी आयोजना गर्न लागिएको लगानी सम्मेलनबाट वैदेशिक लगानी नआउने नेता महतको तर्क छ । नेता महतले नेपालमा जलस्रोत, उद्योग, पर्यटन, वनलगायतको क्षेत्रको विकासका लागि वैदेशिक लगानी अनिवार्य भएपनि त्यसलाई भित्र्याउन भौतिक पूर्वाधार विकास गर्नु पर्नेमा सरकारले त्यसो गर्न नसकेको पनि स्पष्ट पारे । कांग्रेस नेता महतले सरकारले वैदेशिक लगानी भित्र्याउन कानुन निर्माणको काम गरे पनि भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिन नसकेको पनि स्मरण गराए । उनले नेपालको समग्र विकासका लागि निजी क्षेत्र र सरकारको लगानी पर्याप्त नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।
यसैगरी काँग्रेस नेता रमेश लेखकले नेपालमा कम्युनिष्ट सरकार बनेको एक बर्षमै जनता निराश बनेको आरोप लगाएका छन् । बिहीबार बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा नेता लेखकले सरकारको कामकारवाहीबाट मुुलुक द्वन्द्वमा जाने खतरा बढेको हो कि भन्ने काँग्रेसलाई चिन्ता लागेको बताए । उनले कम्युनिष्टहरुले चौबाटोमा छोडेको संविधान नेपाली काँग्रेसले पूरा गरेको भन्दै २०६४ मा कम्युनिष्टको बहुमत हुँदा संविधान निर्माण गर्न नसकेको तर २०७० मा काँग्रेसले जित्दा देशमा संविधान निर्माण र तीन तहका चुनाव गरेर मुलुकलाई सहि दिशा प्रदान गर्न सहयोग गरेको दावी गरे ।उनले काँग्रेसले शुरूवात गरेका विकास निर्माणका कार्य समेत वर्तमान सरकारको निर्देशनमा रोकिएको भन्दै सरकारको यो व्यवहारले कम्युनिष्टहरु विकास विरोधी प्रमाणित भएको बताए ।कार्यक्रममा राप्रपा जिल्ला सदस्य राजुदेवी साउदलगायत विभिन्न पार्टीका कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *