स्वतन्त्र मधेश गठबन्धनको बैठक सुरु

सिरहा, ४ चैत । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको बैठक आईतबारबाट सुरु भएको छ । सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा प्रदेश गरेका सीके राउतले राष्ट्रिय परिषदको बैठक बोलाएका हुन । सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गान ‘सयौं थुङ्गा फूलका हामी..’ बजाइएपछि संयोजक डा. राउतले दीप प्रजल्वन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए । बैठक सोमबारसम्म चल्ने आयोजकले जनाएको छ । मधेशको २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक बैठकमा सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिए । बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो । सरकारसँग ११ बुँदे सहमतिपछि पहिलो पटक परिषदको बैठक बस्न लागेको र यस वैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए । वैठकस्थलको मूल गेटबाटै गठबन्धनको आन्तरिक सुरक्षा दस्ताले वैठकस्थलमा कडाइ गरेको छ । प्रहरीले भने मारवाडी सेवा सदनको मुल गेट नजिकै सडकमा उभिएर सुरक्षा दिइरहेको छ । बैठकस्थलभित्र प्रहरीसमेतलाई प्रवेश दिइएको छैन । यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *