विप्लव माओवादीका ११ जना केन्द्रिय सदस्यसहित करिब ४ सय १५ जना नेता कार्यकर्ता पक्राउ, पोलिटब्युरो सदस्य कार्कीलाई राजद्रोहको मुद्धा

काठमाडौँ, ४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ११ जना केन्द्रिय सदस्यसहित करिब ४ सय १५ जना नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित ११ जना केन्द्रिय सदस्य पक्राउ परिसकेका छन् भने करिब ४ सय १५ जना कार्यकर्ता पक्राउ परेका छन । सबै जिल्लामा उच्च सुरक्षा सतर्कता बढाएको र उक्त समूहको गतिविधि देखिएमा तत्काल पक्राउ गरीने भएको छ । सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ । नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन । सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको छ, प्रहरी प्रवक्ता सुवेदीले भने ।
यसैगरी सरकारले विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई सरकारले राजद्रोहको मुद्धा लगाएको छ ।प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउ परेका नेता जीवन्तलाई शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएको थियो । नेता जीवन्तलाई टेकु चौकीमा लगेर अदालतमा ल्याई सो मुद्धा दायर गरिएको हो । मुलुकी अपराध संहिता अनुसार यो अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ ।
जिल्ला अदालत काठमाण्डौंले जीवन्तलाई पाँच दिनको म्याद थपेको छ । सो पार्टी गठन भएर आएपछि पहिलो पटक कुनै पनि नेतालाई राजद्रोहको मुद्धा लगाएको यो पहिलो पटक हो । अखील किसान महासंघ क्रान्तिकारीका संयोजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरेको छ भने युवा संगठनका जयराम दंगोललाई तीन दिन म्याद थप गरेको छ । तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।
यस्तै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेललाई प्युठानबाट अपहरण शैलीमा प्रहरीले बिनाकारण गिरफ्तार गरेको छ । शनिबार प्युठानस्थित पोख्रेलकै डेराबाट अपहरण शैलीमा बिनाकारण गिरफ्तार गरेको अखिल (क्रान्तकारी)ले जनाएको छ । पोख्रेललाई अहिले जिल्ला प्रहरी कार्यालय प्युठानमा राखिएको छ । बिनाकारण झुट्टा मुद्दा लगाउन खोजिएको भन्दै पदम पोख्रेलले हिरासतभित्रै भोक हडताल गरेको बताएका छन् । यसअघि पनि प्यठानबाट एक जना शिक्षिकासहित २ जनालाई अस्ति नै आफ्नै काममा व्यस्त भइरहेको बेला विनाकारण गिरफ्तार गरिएको थियो । शिक्षिका भगवता ठेडि मगरसहित २ जनालाई अस्ति नै आफ्नै काममा व्यस्त भइरहेको बेला बिनाकारण गिरफ्तार गरेको थियो ।
यसैबीच अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य अर्जुन गौतमलाई प्रहरीले गरिफ्तार गरेको छ । फागुन २६ गते काठमाडौँको बुढानिलकण्ठस्थित आफ्नै घरबाट बिनाकारण अपहरणशैलीमा गौतमलाई गिरफ्तार गरिएको अखिल नेपाल भूमिहीन सुकुम्बासी संघले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका अध्यक्ष ओमप्रकाश पुनले मंगलबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनलाई प्रहरीले गरेको गरिफ्तारप्रति आपत्ति जनाएका छन् । पुनले सरकार भूमाफिया र जग्गा दलालको निर्देशनमा चलेको आरोप लगायतका छन् ।नेता पुनले वर्तमान सरकारलाई फासिवाद भन्दै देशभर सुकुम्बासीमाथि धरपकड र गिरफ्तार भइरहेको भन्दै तत्काल रोक्न आग्रह पनि गरेका छन् । अध्यक्ष पुनले प्रहरी प्रशासन सत्तारुढ पार्टीको कार्यकर्ता बनेको भन्दै त्यसले आफूहरुलाई एकीकृत जनक्रान्तिको नयाँ युद्धमा जान बाध्य बनाउने बताए । विज्ञप्तिमा उल्लेख छ, “कुनै बेला काङ्ग्रेसको कार्यकर्ताको रुपमा परिचालित नेपालको प्रहरी प्रशासनले नेपाली जनतालाई जनयुद्धमा जान बाध्य पारेझै पुनः अहिले केपी र प्रचण्डको कार्यकर्ताको रुपमा परिचालित प्रहरीले प्रशासनले हामीलाई एकीकृत जनक्रान्तिको नयाँ युद्धमा जान बाध्य बनाउँदै छ । धरपकड तथा गिरफ्तारी नरोकिए ६० लाख हजार सुकुम्बासी सडकमा आउन बाध्य हुने पुनले चेतावनी पनि दिएका छन् । उनले त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले हुनुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *