विप्लव नेकपाप्रति प्रधानमन्त्री ओली आक्रोशित

विराटनगर, ४ चैत । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाप्रति प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन । प्रधानमन्त्री ओलीले विप्लव नेकपाको गतिविधिलाई प्रतिबन्ध मात्रै नभइ नियन्त्रण गरि छाड्ने धम्की दिएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली विप्लव नेकपाप्रति आक्रोशित भएका हुन ।“विप्लव समूह मान्यताप्राप्त संस्था होइन । कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत समूह हो । अहिले प्रतिबन्ध लगाएको के मा हो भन्दा कहिँ दर्ता भएको थियो र ? नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड छ । कहिले के समूह कहिले के भनेजस्तै समूह हो । अहिले विप्लव समूह भनेर चिनिने समूह छ । धम्क्याएर लुटपाट गरेर, उद्यमी र व्यवसायीलाई धम्क्याएर उत्पात मच्चाएको छ । बम पड्काएको छ । मान्छे मारेको छ । अनि यस्तालाई प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ?”उनलेविप्लव नेकपालाई सरकारले ठट्टा नगरेको भन्दै नियन्त्रणमा लिने चेतावनी पनि दिए“विप्लव समूहलाई भन्न चाहन्छु सरकार ठट्टा गरिरहेको छैन । विध्वंसात्मक काम गर्न पाइँदैन । कसैले रुवाबासी गर्छ भने गरिरहोस् । सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ । नेपालमा शान्ति चाहियो कि चाहिएन ? अस्ति वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको ? सधैं वार्ता भनिरहने ?”उनले विप्लव नेकपाका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको बताए । “विप्लव समूहका माग के हुन् ? सभ्य समाजले सुन्न सक्ने कुनै माग छन् ? भन्ने प्रश्न गरे । उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको बताए । उनले सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्ने बताए । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमात्रै प्रतिबन्ध लगाइएको जनाए । प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए । उनको प्रश्न थियो, ‘नेपालमा शान्ति चाहियो कि चाहिएन ? प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताको रुवावासी र छाती पिट्नु के उद्देश्य हो बुझ्न आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताए । उनले रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पारेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *