काङ्ग्रेसद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको थियो । सोमबार पनि केन्द्रीय समिति बैठक बस्नुअघि दुवै पक्षबीच पदाधिकारीस्तरमा समिति गठन सम्बन्धमा सहमतिको प्रयास गरिने बताइएको छ । संयोजकसहित पाँच सदस्य रहने दुवै समितिलाई काङ्ग्रेसमा महत्वको रूपमा लिइन्छ । समिति गठनमा दुवै पक्षले आफू अनुकूल खोज्दा सहमतिमा ढिलाइ भएको बुझिएको छ ।
यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेपाली कांग्रेसको शीर्ष नेता, पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बिना निष्कर्ष टुंगिएको छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत हुने एजेन्डामा पूर्वसहमति खोज्न सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेतासँग छलफल गरेका थिए । सभापति देउवा समूहले वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको भावनाविपरीत विधानमा केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने व्यवस्था बहुमतका आधारमा राखेपछि कांग्रेसभित्र विवाद छ । यो बाहेक अनुशासन समिति, निर्वाचन समिति गठन तथा भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका एजेन्डा पनि कांग्रेसभित्र छ । सोमबार बस्ने बैठकमा यी एजेन्डामाथि छलफल हुने भएकोले सहमतिकै आधारमा अघि बढ्न सभापति देउवाले बैठक राखेका हुन । बैठकमा सहभागी भएका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार बैठकले कुनै निष्कर्ष भने निकाल्न सकेन । बहुमतीय आधारमा नभइ सर्वसम्मत रुपमा अघि बढ्नु पर्नेमा नेताहरुले धारणा राखे पनि विषयगत रुपमा भने विवाद टुंग्याउने काम बैठकले गर्न नसकेको उनको भनाइ छ । अनुशासन समितिमा पौडेल समूहबाट दुई जना र सिटौला समूहबाट एक जना सदस्य हुनुपर्ने नेताहरुले अडान राखेका छन । तर, सभापति देउवा समूहले आफू अल्पमतमा हुने गरी अनुशासन समिति गठन गर्न मानेको छैन । देउवा समूहले पौडेल र सिटौलाले मागे अनुसार सदस्य दिन नसकिने बताउने गरेका छन् । गुट, उपगुटमा विभाजित भएका कारण पार्टीभित्रका मुद्दालाई किनारा लगाउन कांग्रेस नेतृत्वलाई सकस छ । यस्तै नेतृत्वविहीन रहेको नेविसंघबारे पनि पार्टीले निर्णय लिन सकेको छैन । नेविसंघको १२ औं महाधिवेशन गराउनका लागि तदर्थ समिति गठन गर्नुपर्ने भए पनि नेविसंघ विधानअनुसार ३२ वर्षे उमेरहद लागू गर्ने वा नगर्ने भन्नेमा नेताहरु विभाजित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *