रंगसहित मनाउने होली पर्व सुरु

काठमाडौं, १ चैत । रंगसहित मनाउने होली पर्व बिहीबारबाट सुरु भएको छ ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा होलीको चीर ठड्याइएपछी होली पर्व सुरु भएको हो । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन रंगीविरङ्गी कपडाका ध्वजापतकासहित सजाइएको बाँसको तीनखण्डे चीर ठड्याएपछि मुलुकभर होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा बिहीबार बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको छ । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको धालासिक्व मानन्धर सनाः गू खलःका सचिव मदनरत्न मानन्धरले जानकारी दिए । रंगहरुको यो पर्वमा मात्रै रंगहरुसहित होली खेल्न पाईन्छ । अन्य समयमा रंगहरुसँग खेल्न कानुनी रुपमै प्रतिबन्ध लगाइएको छ । बिहीबार बिहान ११ बजेर ५५ मिनेटको साईतमा वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिकासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाईको तीनखण्डे गजुरजस्तो देखिने रंगीविरङगी होलीचीर ठड्याइएको हो । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो । सचिव मानन्धरले मल्लकालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको पनि बताए । उनले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास रही आएको पनि बताए । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरुमा चैत्र ६ गते बुधबार र तराई मधेसका जिल्लाहरुमा चैत्र ७ गते बिहीबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *