विप्लव माओवादीको मार्ने सूचीमा प्रचण्डको नाम एक नम्बरमा, कसैको धाक धम्कीबाट आफू विचलित नहुने प्रचण्डको दावी


काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर टिम खटाएको दस्ताबेजसमेत भेटिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले बताएका छन । वाइसिएलले बिहीबार पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारजनलाई सम्मान कार्यक्रममा उनले हिजोसँगै जनयुद्ध लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएकोमा दुखलागेको बताएका हुन । आफूलाई नै १ नं मा मार्न विप्लव समूहले निर्णय गरी टिम खटाएको जानकारी सरकारबाट प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफू कसैको धम्कीबाट विचलित नहुनेसमेत बताए । उनले जनताको त्याग र बलिदानीबाट नै समाजवादको आधार तयार भएको बताउँदै समाजवादको यात्रामा अघि बढेको तर त्यो रातारात आउन नसक्ने धारणा व्यक्त गरे । एकता र सहकार्यका साथ महान् समाजवादको उज्यालोमा पुग्न सकिने पनि उनले बताए ।
उनले भने, ‘मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त?’आफूलाई मार्न टिम खटाउनेहरूलाई देखेर दया लागेको उनले बताए ।‘ ती साथीहरूलाई देख्दा दयामाया लागेको छ । राज्य कानुनअनुसार अघि बढ्ने बताउदै उनले जनयुद्धको योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति प्रक्रियाको पनि नेतृत्वकर्ता भएकोले अन्तिमसम्म लडिराख्ने बताए । विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको उनले बताए । ‘नक्कलले दुख पाउनुबाहेक अरू केही हुन्न । उनले भने, ‘जनयुद्धकै बेला मैले ज्ञानेन्द्रलाई महेन्द्रको कलाविहीन नाटक भनेको थिएँ। नौटंकी भनेको थिएँ। भयो त्यस्तै । आखिर उनले दरबार छोड्नु प¥यो ।’देशमा राजतन्त्र पनि नभएको र २०५२ सालको जस्तो परिस्थिति पनि नभएकोले विप्लवले सोचेजस्तो केही गर्न नसक्ने उनले बताए । ‘यो ०५२ साल होइन । देशमा राजतन्त्र छैन । हिजो सँगै लडेका साथीहरूको सरकार छ, अनि परिस्थिति हेर्नु पर्दैन?,’ उनले भने, ‘अर्को प्रचण्ड बन्छु भनेर हिँडेका छन् सजिलो छैन । म प्रचण्ड बन्छु भनेर हिँडेकै होइन । जनताले प्रचण्ड बनाइदिएका हुन ।’उनले प्रचण्डको नक्कल गरेर प्रचण्ड भइँदैन भन्ने राम्रोसँग बुझ्न पनि उनले आग्रह गरे । ‘प्रचण्डकै नक्कल गरेर प्रचण्ड भइँदैन । यही समयमा फेरि नयाँ प्रचण्ड बन्दैन । हिजोका साथीहरूलाई यो सल्लाह दिइराखेको छु,’ उनले भने । प्रचण्डले विप्लवलाई सङ्केत गर्दै कसैको नक्कल गर्दै धाँकधम्की दिँदै आफ्नो अधिपत्य देखाउँछु भन्ने कसैलाई सपना नदेख्न चेतावनी दिए ।जनयुद्ध लडेका सहिद तथा बेपत्ताजनसहित नेताबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएकोले त्यो परिवर्तनबाट अब पछि हट्न नसकिने उनले बताए । ‘महान् सहिद र बेपत्ताका परिवारजनका अगाडि बसेर म भन्छु परिस्थिति ०५२ सालजस्तो छैन । हाम्रै कारणले परिवर्तन आएको छ । यसलाई उल्ट्याउने भनेको निरंकुशतातिर लैजाने हो,’ उनले भने । उनले सहिद तथा बेपत्ताजनका परिवारलाई आफूहरूको नेतृत्वमा दुई तिहाइको सरकार रहेकोले निराश नहुन आग्रह पनि गरे । उनले देशमा शान्ति, अमनचयनलाई बिथोल्न खोजे जो कोहीलाई राज्यले संविधान तथा ऐन कानूनअनुसार कारवाही गर्छ, त्यसैले परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । परिवर्तन ल्याउन साथ र सहयोग गर्नेलाई कुनै आग्रह वा पूर्वाग्रह नराखी कन्जुस्याइँ नगरी सहयोग गरिने उनले बताए । अध्यक्ष प्रचण्डले शहीदहरु युगयुग बाँचेका हुन्छन् भन्दै जनयुद्ध र जनआन्दोलनका सबै शहीदको एकै ठाउँमा शहीदपार्क बनाउनेमा पार्टीमा सहमति भइसकेको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *