नेपाल बन्दमा जताततै बम, आगजनी र तोडफोड


काठमाडौँ, ३० फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दमा जताततै बम, आगजनी र तोडफोड भएको छ ।बन्दका कारण देशभरको जनजिवन प्रभावित भएको छ । बन्दका कारण काठमाडौं उपत्यकामा पनि न्यून मात्रामा यातायातका सधान चलेका छन् भने राजधानीबाट बाहिर लामो दूरीका सवारी साधन पूर्णरुपमा ठप्प छन् । उद्योग, कलकारखाना, शैक्षिक संस्था पनि पूर्णरुपमा बन्द छन् ।सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्दको आयोजना गरेका हो । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।विप्लवले चरणबद्ध संघर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए । जसअनुसार नेपाल बन्द सफल पार्न फागुन २५–२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फगुन २८ फागुन २९ मशालजुलुससहित फागुन ३० नेपाल बन्दको आह्वान गरिएको थियो । बन्दका कारण काठमाडौँसँगै झापाको सदरमुकाम बिर्तामोड, विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहु, धादिङमा नेकपाका कार्यकर्ताले सडकमा फाट्टफुट्ट देखिएका छन् ।विहान ८ बजेसम्म काठमाडौमा सार्वजनिक तथा निजि सवारी साधान फाट्टफुट्ट मात्रै देखिएका छन् । सडकमा सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ, एम्बुलेन्स चलेका छन् ।
यसैगरी मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ ।अज्ञात समूहले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडी गएराति १२ बजे आगजनी गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।मास्क लगाएको एक समूहले गुडिरहेको गाडी रोकेर चालक तथा सहचालकलाई बसबाट ओराली पेट्रोल छर्केर आगजनी गरेको ट्रकका चालकले बताए ।ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । तर अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छ ।यसैबीच, हेटौंडाको औद्योगिक क्षेत्रनजिक भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।शंकास्पद वस्तु भेटिएको सूचना पाएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले डेटोनेटरको सहायताले शंकास्पद वस्तु निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।
यस्तैपोखराको सभागृह चोकमा बिहीबार बिहानै शंकास्पद वस्तु फेला परेको छ ।चोकमा भेटिएको शंकास्पद वस्तु बम भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।नेपाली सेनाले अहिले सवारी आवागमन रोकेर उक्त शंकास्पद वस्तुबारे अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।बम कसले राख्यो भन्ने खुलेको छैन । तर, बिहीबार विप्लवले देशव्यापी बन्द गरेकाले त्यही समूहले राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।शंकास्पद वस्तु भेटिएपछि पोखराको सभागृह चोक वरपर त्रास फैलिएको छ ।
यसैगरी काठमाडौंको अनामनगरमा शंकास्पद वस्तु भेटिएको छ । कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो । महानगरीय प्रहरी वृत्त, सिंहदरबारका प्रमुख नायब उपरीक्षक (डीएसपी) काजी आचार्यले शंकास्पद वस्तु भेटिएको पुष्टि गरे ।‘अनामनगरबाट घट्टेकुलोतर्फ जाने बाटोमा शंकास्पद वस्तु भेटिएको सूचना आएको छ’, उनले भने, ‘हामीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेका छौं ।’हाल नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ भने डिस्पोज गर्ने प्रक्रिया सुरु भइसकेको छ । थप विवरण दिइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *