विप्लवद्वारा राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर मन्त्रीहरुलाई प्रतिबन्ध लगाउने चेतावनी


काठमाडौं, ३० फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिएका छन । सरकारले प्रतिबन्ध गरेको एक दिन पछि पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै महासचिव विप्लवले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्धलाई खारेज गर्दै प्रतिवन्ध त अब केपी र बादल कम्पनीलाई लगाइने चेतावनी दिएका हुन । महासचिव विप्लवले ‘केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यको मुखतोड जबाफ दिइने चेतावनी दिएका छन् । ‘यही फागुन २८ गते साँझ मन्त्रिपरिषद्को बैठकबाट हाम्रो गौरवशाली पार्टीमाथि प्रतिबन्ध लगाउने, राजनीतिक मान्यता नदिएर अपराधी समूह मान्नेजस्तो आपराधिक, षड्यन्त्रकारी तर हास्यास्पद निर्णय गरेको प्रचार सञ्चारमाध्यममा आएको छ ।’ महासचिव विप्लवले वक्तव्यमा भनेका छन, ‘जहाँसम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लगाउने प्रचार छ, प्रतिबन्ध हामीलाई होइन, राष्ट्र बेचेर खाने, विदेशीको दलाली गर्ने, भ्रष्ट, कमिसनखोर, तस्करहरूसँग मिलेर जनताका विरुद्ध जघन्य अपराध गर्ने अपराधी, भ्रष्ट, राज्यका मन्त्री र उनीहरूका मतियारहरूलाई लगाइनेछ ।’विज्ञेप्तीमा महासचिव विप्लवले अब आफ्नो पार्टीले देशलाई बेचेर खाने, विदेशीको दलाली गर्ने भ्रष्ट र राज्यका मन्त्रीहरूलाई थप प्रतिवन्ध लगाइने बताएका छन् । झापा विद्रोह र दस वर्षको महान् जनयुद्धका हजारौँ सहिद, बेपत्ता, घाइते र क्रान्तिकारीहरूलाई धोका दिने, कम्युनिस्ट आदर्श, सिद्धान्त, मूल्य, मान्यता, लक्ष्य बेचेर खाँदै जनताका वैरीहरूसँग गठजोड गरेर क्रान्तिकारीहरूमाथि दमन गर्ने ‘अधर्मी’, अनैतिक, अन्तर्घाती अपराधीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ ।’अहिलेसम्म पार्टीले गरेका सबै कार्वाहीको जिम्मा लिने भन्दैं महासचि विप्लवले केपी प्रचण्ड गिरोहहरूमाथि अब कार्वाही गरिने चेतावनी दिएका छन् । आफ्नो पार्टीले एनसेल, अरुण ३ माथि गरेको कारबाहीको कारण स्पष्ट पार्दै उनले भनेका छन,– ‘अरुण ३ जस्तो राष्ट्रघाती सम्झौता गरेर अर्बौं कमिसन खाने अपराधी केपी—बादल कम्पनी रहेछ, हाम्रा हजारौँ दिदीबहिनीहरूलाई विदेशी बजारमा आलु बेचेजसरी बेचेर हुर्मत लिने अपराधी यिनीहरू नै रहेछन, खुलेआम अर्बौं रुपैयाँ ठगी गर्ने गिरोहमा यिनीहरू नै रहेछन् । यसो हो भने अबको कारबाही एनसेल, मेनपावर र अरुण ३ माथि होइन, यी अपराधीमाथि हुनुपर्छ ।’विज्ञेप्तीको अन्त्यमा भनिएको छ, ‘यी कारबाहीलाई केपीले लगातार चन्दामा लगेर जोड्नु भनेको आफ्नो भ्रष्ट अनुहारलाई छोप्ने तुच्छ र उदाङ्गो खेल मात्र हो । हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । हामी आफ्नो आदर्शका लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार छौँ तर दलालहरू र दलाल पुँजीवादी सत्ताका सामु एकरत्ति झुक्न तयार छैनौँ ।’
यसैगरी मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा नयाँ तरङ्ग पैदा भएको छ । सरकारको यस्तो निर्णयले सचिवालयकै केही नेताहरु असन्तुष्ट बनेका छन् । र, यसबारे नेकपाका शीर्ष नेताहरुमा छलफल सुरु भएको छ । सरकारले एकपछि अर्को गर्दै विवादीत निर्णय गर्नथालेपछि असन्तुष्ट बनेका सचिवालयका नेताहरु र अध्यक्ष प्रचण्ड सहित बुधबार विहान खुमलटारमा बैठक बस्यो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेको स्रोतले बतायो । विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयबारे पार्टीमा कुनै छलफल नभएको र पार्टीलाई भद्रगोल अवस्थामा पुर्याएको, सांगठनिक एकीकरणका वाँकीकाम अलमलाएको भन्दै असन्तुष्ट चार नेताहरुले अध्यक्ष प्रचण्डलाई नीतिगत निर्णय गर्न तत्काल सचिवालयको बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई दबाब दिनेबारे छलफल भएको स्रोतले बतायो । विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णयपछि चौतर्फी सरकारको विरोध भएको छ । यसमा सत्तारुढ दलकै दोस्रो तहका केहि नेताहरुको असन्तुष्टि बाहिर आएको छ । तर, यसबारे सचिवालयका शीर्ष नेताहरुको धारणा अहिलेसम्म सार्वजनिक भने भएको छैन ।स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा छलफलबिनै एकपछि अर्को निर्णय गर्न थालेको र त्यो गलत हुने भन्दै असन्तुष्ट नेताहरुले अध्यक्ष प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । वालुवाटार स्रोतका अनुसार प्रचण्डको आग्रह अनुसार प्रधानमन्त्री ओलीले बिहिबार असन्तुष्ट चार शिर्ष नेतालाई भेट्ने कार्यक्रम तय गरेका छन् । बिहिबार प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहित असन्तुष्ट चार नेताहरुको छलफलपछि मात्रै नेकपाले विप्लवमाथि लगाएको प्रतिवन्धबारे आधिकारीक धारणा सार्वजनिक गर्नेछ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा छलफल नगरी विप्लव समूहलाई प्रतिबन्ध गर्नु उचित नभएको बताएका छन् । बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले यस्तो गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक नभएको बताए । सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ माथि हतारमा प्रतिबन्ध लगाएको टिप्पणी गरेका छन् । यद्यपि यसबारे पार्टीमा छलफल हुन बाँकी रहेको बताए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले अधिकतम लचिलो भएर वार्तामा ल्याउन पहल गर्नुपर्ने बताए । ‘पार्टीमा छलफल हुन बाँकी छ । मेरा कुराहरु पार्टीमा राख्छु तर म यति भन्न चाहन्छु कि कुनै पनि पक्षलाई धकेल्ने, निशेध गर्ने र बाध्यात्मक बाटो लिन बाध्य पार्ने काम राज्यले गर्नु हुँदैन ।’विप्लवले पनि प्राप्त भएका उपलब्धिहरुको रक्षा गर्दै शान्तिपूर्ण तवरले आफूलाई प्रस्तुत गर्नुपर्ने उनले बताए । विप्लव नेकपामाथि ओली सरकारले लगाएको प्रतिवन्धको सत्ताधारी पार्टीबाटै तीव्र आलोचना भएको छ ।सत्ताधारी नेकपाका नेताहरू राम कार्की, नारायण शर्मा अनि युवा नेताहरू रामदीप आचार्य, सुदीप मल्ललगायतले सरकारले विप्लव नेकपमाथि लगाएको प्रतिवन्धको विरोध गरेका छन् ।त्यसैगरी सत्ताधारी नेकपाका पत्रकार, साहित्यकार र कविहरूले पनि सरकारले गरेको प्रतिवन्धको विरोध गरेका छन् । पत्रकार बलराम थापा, साहित्यकार एवं कवि विष्णु भण्डारीलगायतले पनि सरकारको पछिल्लो कदमको विरोध गरेका छन् ।
त्यसैगरीप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको समूहसँग संवाद, सहमति र सहकार्यबाट नै समाधान खोज्न सरकारलाई आग्रह गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विप्लवका गतिविधि प्रतिबन्ध लगाउने निर्णय गरेपछि बुधबार कांग्रेसले पत्रकार सम्मेलन गर्दै सरकारले शान्ति सुरक्षा कायम गर्न देखाएको गम्भीर्यताप्रति समर्थन रहेको बतायो । ‘सरकारले नागरिकको शान्ति सुरक्षा कायम गर्नुपर्ने गाम्भीयर्ताप्रति गम्भीर छौं,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘समस्याको दीर्घकालीन समाधानका लागि संवाद, सहमति र सहकार्य नै आवश्यक पर्छ । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो । ’नागरिकको जीउ ज्यान र सम्पत्तिको सुरक्षा गर्ने सरकारी कामको विरोध नगर्ने कांग्रेसले जनाएको छ ‘आफ्नै गोत्रबन्धुलाई सम्बन्धमा गाँस्ने कुरा वार्ता, छलफलबाटै सुमधुर बन्न सकोस,’ शर्माले भने ।
यस्तै नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्र विक्रम चन्द विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउनु निन्दनीय भएको बताएको छ ।अध्यक्ष मोहन बैद्य किरणको अध्यक्षतामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै क्रान्तिकारी माओवादीले भनेको छ, ‘आफूलाई कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समूहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ ।’सरकारको निर्णयको कडा विरोध तथा भत्र्सना गर्दै क्रान्तिकारी माओवादीले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्ने बताएको छ । साथै धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोकी प्रतिबन्ध फिर्ता लिन सरकारसँग माग गरेको छ ।यसैगरी राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले विप्लव समूहलाई प्रतिबन्ध गरेर समस्या समाधान नहुने बताएका छन् ।बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारलाई प्रतिक्रिया दिँदै उनले विद्रोहको कारण नखोजी प्रतिबन्ध गरेर मात्र समस्या समाधान नहुने बताएका हुन् ।
यता नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले केपी ओली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थोपरेर मजाकको नियति दोह¥याएको बताएका छन् ।पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले मार्क्सको भनाई उल्लेख गर्दै ओली सरकारले विप्लव नेकपालाई दमन गरेर सिध्याउने प्रतिवन्धको निर्णयलाई वियोगान्त र मजाकको रूपमा लिएका छन् । सामाजिक संजाल फेसबुक र टवीटरमा बाबुरामले कम्युनिस्ट नाम गरेको सरकारले अर्काे कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध थोपर्नु अचम्म भएको भन्दै त्यसले पु¥याउने बाटो भनेकै विनाशको बाटो भएको उल्लेख गरेका छन् । विप्लव नेकपालाई प्रतिवन्धित गरेर ओली सरकारले आफ्नो अवसानको बाटो पनि सँगै रोजेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *