विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय,विप्लव माओवादीद्वारा प्रतिबन्धको प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ, २९ फागुन । नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकपछि कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, विप्लव नेतृत्वको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।” सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।
यसैगरी सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको यस्तो कदमको विभिन्न पार्टीका विभिन्न नेताहरूले चर्काे आलोचना गरेका छन् ।पूर्वमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेता, कलाकारहरुले सरकारको निर्णयविरुद्ध आ–आफ्ना प्रतिक्रिया जनाएका छन् ।
यस्तै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले सरकारले आफुहरूमाथि प्रतिवन्ध लगाएर दमन गरे त्यसको प्रतिरोध गरिने चेतावनी दिएका छन् ।
विप्लव नेकपाका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की जीवन्त र अर्का केन्द्रीय सदस्य भेषराज भुषालले यस्तो कडा चेतावनी दिएका हुन् । नेकपा पोलिटव्युरो सदस्य मोहनबहादुर कार्की जीवन्तले सिके राउतसँग सहमतिपछि सरकारले आफूहरुमाथिको प्रतिवन्ध षड्यन्त्र भएको बताएका छन् । कार्कीले सरकार दमनमा आए त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । उनले भने, ‘जनतामाझ जान्छौं र सरकारको निर्णयको भण्डाफोर गर्छौं, राज्य दमनमा उत्रिए प्रतिवाद गर्छौं ।’पार्टी नेतृत्वबाट यही सन्देश सम्प्रेषण भएको पोलिटब्यूरो सदस्य कार्कीले बताए । साथै आजभोलिमै सरकारको निर्णयबारे महासचिव विप्लवबाट आधिकारिक वक्तव्य आउने बताए ।
यसैबीच विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले सरकारले गरेको प्रतिवन्धको निर्णय जनताको सीमित अधिकारमाथि भएको नांगो हस्तक्षेपको संज्ञा दिएका छन् ।‘सरकारले गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’ भुषालले भने । साथै नेता भुषालले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् । उनले भने, ‘सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’
यसैगरी दैलेखमा विप्लव माओवादी समूहले स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई सुरक्षा चुनौती देखिएका संवेदनशील स्थानमा सुरक्षाबल बढाउन र सुरक्षा निकाय सचेत हुन आग्रह गरे । यस्ता फोन र धम्की अहिले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षसम्मलाई आएको दैलेखका स्थानीय सरकार प्रमुखहरुले बताए । दैलेखका स्थानीय सरकारका प्रमुखहरुलाई ढुक्क भएर बस्न आग्रह गर्दै प्रदेश प्रहरी प्रमुख शाहले भने, “तपाईंहरु जनताबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, ढुक्क भएर बस्नुहोस, अराजक गतिविधि गर्ने जोकोहीलाई प्रहरीले विशेष ढङ्गले खोजी गरिरहेको छ ।” मुलुक समृद्धितर्फ अगाडि बढ्ने महान् अभियानलाई कसैले पनि अवरोध गर्न नहुने र संविधानविपरीत कार्य गर्ने सबैलाई कारवाही गर्न सरकार तयार रहेको बताए । विप्लवका गतिविधिलाई सबै मिलेर निस्तेज पार्न सकिने उनको भनाइ थियो । संविधानमा लेखिएका कुराविरुद्ध अहिले विप्लव समूह अगाडि बढेको भन्दै उनले बम विस्फोट, व्यक्ति हत्याजस्ता गतिविधिमा विप्लव समूह सक्रिय रहेको उल्लेख गरे । उनले संविधानले निषेध गरेका कुरा गर्ने राजनीतिक समूह नभएर अपाराधिक समूह भएको भन्दै प्रहरीले यस्ता गतिविधिको नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रियाका लागि कडा कदम चाल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *