सरकार र राउतबीच भएको सम्झौताविरुद्ध नेविसंघ सडकमा

 

काठमाडौँ, २९ फागुन । सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौताविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । मंगलबार विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पसबाट प्रदर्शनीमार्ग, पुतलीसडक, कमलादीहुँदै घण्टाघरसम्म प्रदर्शन गरेका छन । प्रदर्शनपछिको कोणसभामा नेविसंघका निवर्तमान महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेम जोशीले जनअभिमतका नाममा राष्ट्रिय अखण्डतामा धावा बोल्ने काम भएकोमा विरोध गरेको बताए । ‘हिमाल, पहाड, तराइ कोही छैन पराइ’ लेखिएको ब्यानर बोकेर नेविसंघले प्रदर्शन गरेको हो । राष्ट्रिय अखण्डतामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र विखण्डनकारी सिके राउत लागेको भन्दै नेविसंघले विरोध गरेको थापाले बताए । साथै नेविसंघ रत्नराज्य क्याम्पस इकाईले सरकार र राउतबीच भएको सम्झौताको विरोधमा सडकमा टायर बालेर प्रदर्शन गरेको छ ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याले अन्योल सिर्जना भएको जनाएको छ । मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई कमजोर पार्ने गरी कसैले पनि कुनै सम्झौता, सहमति गर्ने छुट नपाउने विज्ञप्तिमा उल्लेख छ । “सहमतिमा प्रयोग गरिएको जनअभिमतको आशय सिके राउत पक्षले स्वतन्त्र मधेस राष्ट्रको लागि जनमतसङ्ग्रह हो भन्ने धारणा व्यक्त गर्दै आएको छ । सहमतिपश्चात् सिके राउतको जनकपुर भ्रमणमा प्रदर्शन गरिएका ब्यानर, प्लेकार्ड तथा लगाइएका नाराले नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई गम्भीर प्रतिकूल प्रभाव पार्ने अवस्था सिर्जना भएको छ”, विज्ञप्तिमा उल्लेख छ । सहमतिप्रति दुवै पक्ष इमान्दार रहँदै समान धारणाका साथ कार्यान्वयनमा गम्भीर हुनुपर्नेमा त्यस्तो नदेखिएकाले आशङ्का उत्पन्न भएको प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा जनाइएको छ । काङ्ग्रेसले राष्ट्रिय एकता तथा भौगोलिक अखण्डतामाथि आँच आउन प्रश्रय दिने सहमति तथा क्रियाकलापप्रति घोर आपत्ति प्रकट गरेको छ ।
यस्तै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र सिके राउतबिच भएको सहमतिले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको बताएका छन्। सिके राउतसँग गरेको ११ बुँदे सहमतिका कतिपय बुँदाहरुको भाषाको कारण सरकारले पृथकतावादी विचारलाई मान्यता दिएको स्पष्ट हुने बताएका हुन् ।उनले सम्झौतामा जनमत संग्रहको कुरा गरेर सरकारले राष्ट्रियताको बारेमा गम्भीर रूपले चुकेको बताए । नेता पौडेलले सरकारले राष्ट्रिय अखण्डताको विषयमा जनमत संग्रह गर्नेगरी गरेको सम्झौता आपत्तिजनक रहेको बताए । उनले सरकारले पृथकतावादी आन्दोलनलाई साथ दिएको दाबी गर्दै सिके राउतसँग भएको सहमतिबाट उब्जिएको आशंकालाई सरकारले संसदबाट मेटाउनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सरकार र सिके राउतवीचको विषयमा नेपाली कांग्रेसका सभापति र प्रवक्ताले दिएको अभिव्यक्ती पनि अपरिपक्क भएको बताए । सभापति र प्रवक्ताले अध्ययन नगरी अभिव्यक्ति दिँदा त्रुटि भएको भन्दै उनले खण्डन गरे । वाइडवडी काण्डलगायत अन्य भ्रष्टाचारका घटनाहरू सरकारले ढाकछोप गरेको दाबी गर्दै प्रधानमन्त्री नै हरेक प्रकारका घटनाहरु ढाकछोप गर्नमा लागेको आरोप लगाए । अख्तियार र अदालतले मात्र फैसला गर्ने कतिपय विषयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेर आफैं फैसला गर्न खोजेको बताए । उनले सरकारले शुसासन र शान्ति सुरक्षा दिन र विकास गर्न नसकेको दाबी गर्दै दुई तिहाईको सरकारले भ्रष्टाचार र हत्या हिंसालाई रोक्न नसकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *