सुन र चरेससहित ५ भारतीय पक्राउ

 

काठमाडौं, २८ फागुन । प्रहरीले धादिङ र जनकपुरधामबाट अवैध सुन–चाँदी र लागुऔषधसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीस्थित प्रहरी जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताए । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले शङ्का लागि जाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बटम बनाई ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद भएको हो । प्रहरीले चरेस कारोवारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश निवासी गाडी चालक ६४ वर्षीय ओमप्रकाश र साहु भारत, मोतिहारी जिल्ला तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खानलाई पक्राउ गरेको हो । प्रहरीले ट्रक सहचालकसमेत पक्राउ गरेको भए पनि नाम खुलाएको छैन । उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारीसाधन र लागुऔषध बरामद गरिएकाले लागुऔषध ओसारपसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्लामा प्रतिबन्धित लागुऔषध चरेस यति ठूलो मात्रामा बरामद गरिएको यो पहिलो पटक हो ।
यसैगरी जनकपुरधाममा मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो रहेका छन् । बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका ५ः४५ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल रहेको छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको जनाइएको छ । यस कारोवारमा अन्य को को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *