विप्लवले आफ्नो हर्कत नसुधारे राज्य चुप लागेर नबस्ने प्रचण्डको चेतावनी,संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जान सुझाव

काठमाडौं, २८फागुन । विप्लवले आफ्नो हर्कत नसुधारे राज्य चुप लागेर नबस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ‘प्रचण्ड’ले चेतावनी दिएका छन । संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्न विप्लवलाई सुझाव पनि दिएका छन । सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
अध्यक्ष ‘प्रचण्ड’ले विप्लवलाई वार्ता र संवादद्वारा समस्या समाधान गर्न आह्वान गरेका छन् । विप्लवले २५ वर्ष अघिको कुरालाई नक्कल गर्न खोजेको भन्दै त्यो पार लाग्ने कुरा नभएको उनले बताए । ‘मैले झण्डै २५ वर्ष पहिले गरेको कुरा नक्कल गर्न खोज्नु भएको छ । त्यो बेला र अहिलेको परिस्थितिमा गुणात्मक परिवर्तन भएको थियो’, उनले भने,‘प्रचण्डले गरेको जस्तै नक्कल गरेर म पनि प्रचण्ड हुन्छ भनेर सोच्नु मनोगत हुन्छ ।’उनले त्यस्तो नक्कल गर्न छोडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्न विप्लवलाई सुझाव दिए । ‘इतिहासले एउटा कालखण्डमा एउटा नेतृत्व र विचारधारालाई अगाडि ल्याउने गर्छ’,उनले भने, ‘मेरो साथीहरुलाई आग्रह छ त्यसो गर्न छाडेर संघीय लोकतान्त्रिक प्रणालीबाट समाजवादतिर जाने अवसर सदुपयोग गर्नु उचित हुन्छ । नक्कल गर्नेतिरबाट पार लाग्दैन ।
यसैगरी अध्यक्ष ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नु नपर्ने बताएका छन । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताए । पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको उनले बताए । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उनले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको बताए । राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सम्झौता भएको बताउँदै उनले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने उनले बताए । सरकारले सबैलाई समेटेर अघि बढ्ने बताउँदै उनले विप्लव नेतृत्वको पार्टीलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरे । नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै उनले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताए । पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुङ्ग्याउने क्रममा रहेको बताउँदै उनले सरकार पनि आफ्नो गतिमा अघि बढिरहेको बताए । थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको बताए । सामाजिक सुरक्षा, बेरोजगारी अन्त्यलगायतका क्षेत्रमा काम भइरहेको उनको भनाइ छ । जनताले नेकपाप्रति आशा एवं विश्वास गरेको बताउँदै उनले हालै रौतहटमा भएको कार्यक्रममा देखिएको जनताको उपस्थितिले उक्त कुरा पुष्टि गरेको धारणा राखेका छन ।
यसैबीच नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सिके राउतसँग सहमति गरेर सरकारले विखण्डनकारीलाई मान्यता दिएको बताएका छन् । कांग्रेस क्षेत्रीय समिति नवलपरासी क्षेत्र नम्बर १ ले सोमबार आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने, ‘भाषणमा एकताको कुरा गर्ने ओलीले लिखित सहमतिमा विखण्डनकारीलाई मान्यता दिए ।’
विखण्डनको नारा लगाउँदै आएका राउतलाई मुलधार ल्याएको बताइए पनि सहमतिको भाषा नै उल्टो भएको पौडेलको भनाइ छ । भेलामा बोल्दै उनले वर्तमान सरकार राष्ट्रियता बचाउन असफल भएको बताए ।नेता पौडेलले राउतका कार्यकर्ताले आइतबार जनकपुरमा गरेको नारावाजीको विषयमा पनि सरकारले जवाफ दिनुपर्ने बताए । उनको प्रश्न थियो, ‘सरकारले राउतसँग जनकपुरमा नारा लगाउने सम्झौता गरेको हो ?’सरकारले जेलभित्रै सहमति गरेर राउतलाई रिहा गरेको पौडेलको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *