हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण भएको आरोप

काठमाडौँ, २६ फागुन । हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण भैइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताएका छन । कञ्चनपुरको पुर्नवास नगरपालिका ‘क’ गाउँमा शनिबार आयोजना गरिएको अनुष्ठान कार्यक्रममा उनले हिन्दू धर्मको रक्षा भए मात्रै सद्भाव कायम हुने बताए । विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनले आरोप लगाए । जनभावनाको कदर गर्दै हिन्दूराष्ट्र कायम गरिनुपर्ने बताउँदै उनले हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दूराष्ट्र नै कायम गरिनुपर्ने माग गरे । “नेपालमा बहुसङ्ख्यक हिन्दू बसोबास गर्दछन”, उनले भने, “नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दू राष्ट्र चाहेका छन् ।
यस्तै थापाले राष्ट्रियता जोगाउन स्वाभिमान यात्रा शुरु गरेको बताएका छन । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शनिबार अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा मुलुकको राष्ट्रिय खतरामा परेको उल्लेख गर्दै यसको बचाउमा राप्रपाले मेची–काली यात्रा थालेको बताए । “हामीले यही फागुन १५ गतेदेखि शुरु गरेको मेची–काली यात्रा फागुन ३० गते काठमाडौँमा पुगेर समापन गर्दैछौँ”, उनले भने, “फागुन ७ गते नेपाल सरकारलाई बुझाएको २२बुँदे माग पूरा गर्नेतर्फ चित्त बुझ्ने गरी प्रतिबद्धता नदेखाए जनसंघर्षमा उत्रिन्छौँ ।” सनातन हिन्दू राष्ट्र घोषणा गराउने मुख्य लक्ष्य राखेको राप्रपाले राष्ट्रिय अखण्डता सुदृढ गर्ने, महङ्गी तथा कालोबजारी नियन्त्रण गर्नेलगायत मुलुकका समसामयिक राजनीतिक अवस्थाबारे सभामार्फत जनतालाई प्रष्ट्याउँदै आएको उनले बताए । सङ्गठित रुपमा लोभलालच देखाएर र भ्रम सिर्जना गरेर जबर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थालाई बन्द गरिनुपर्ने र गौ हत्या नियन्त्रण गरिनुपर्ने अध्यक्ष थापाको भनाइ थियो । पार्टीले बेरोजगारी समस्या समाधानका लागि अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना ल्याउनुपर्ने माग गर्दै वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी दीर्घकालीन आर्थिक विकासका योजना सञ्चालन गर्नसमेत उनले आग्रह गरे ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टी कुनै पनि हालतमा विभाजन नहुने बताएका छन् । चितवनको भरतपुरमा शनिबार आयोजना गरिएको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहोनीले पाटीए विभाजन नहुने प्रतिबद्धता जनाएका हुन् । अध्यक्ष राणाले पार्टी कहिल्यै नफुट्नेगरी मिलेको बताए । “हामी देशव्यापी पार्टी एकीकरणको अभियानमा छौँ”, उनले भने, “थप नेता र समूहलाई राप्रपामा (संयुक्त) मा ल्याउने तयारी गरेका छौँ ।” राजसंस्थासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र आन्दोलनबाटै स्थापित गर्ने तयारीस्वरुप देशव्यापी रुपमा पार्टी सुदृढीकरणको अभियानमा लागेको उनले बताए । असहमति राख्ने संविधानले दिएको अधिकार उपयोग गर्दै, पार्टीको सङ्गठन सुढृद गरेपछि जनताको सहयोगबाटै आफ्नो विचार र मान्यता स्थापित गर्ने उनको भनाइ थियो । देशको संविधानमा प्रतिबद्ध रहेको र कार्यान्वयनमा सरकारलाई सघाउने राणाले बताए । विसं २०४७ पछिको सबैभन्दा बलियो सरकारले जनताको पक्षमा काम गर्न नसकेको उनको आरोप थियो । अर्का अध्यक्ष डा लोहनीले पार्टीभित्रको कलहका कारण जनताले मत नदिएको बताए । पार्टी एक भए सधैँ जनताको विश्वास जित्न सकिने उनको भनाइ थियो । “विचार मिल्नेसँग एकता गर्ने हो”, उनले भने, “जनताको शक्ति आर्जन गरेर परिवर्तनकारी आन्दोलनको नेतृत्व गर्नुपर्छ ।” संविधानले दिएको संविधान संशोधन गर्ने अधिकार टेकेर राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र स्थापना गरिने उनले बताए । “कम्युनिष्ट सरकारले सुशासन दिन्छ भन्ने आशा थियो, तर सरकार कुशासनतर्फ उन्मुख छ । यसलाई नियन्त्रण गर्न जनताको हितमा हामी सक्रिय भएर लाग्नेछौँ”, डा लोहनीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *