सरकारी दमन विरुद्ध विप्लव माओवादीद्धारा फागुन ३० गते नेपाल बन्दको घोषणा ,गृहमन्त्रीद्वारा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह

काठमाडौँ, २६ फागुन । कपिलवस्तुमा भएको गोलीकाण्ड र रोल्पालगायत देशैभर भइरहेको सरकारी दमनविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फागुन ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको र सङ्घर्षको कार्यक्रम घोषणा गरेका छन् । सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पु¥याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते बनाएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।’ विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’महासचिव विप्लवको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबैलाई थाहा छ– हाम्रो पार्टीले दलाल पुँजीवादी सत्ताको राष्ट्रघात, भ्रष्टाचार, तस्करी, बलात्कार, कमिसनखोरी, दलालीका विरुद्ध सङ्घर्ष गरिरहेको छ । ती विषय हाम्रा नभएर नेपाली जनताका विषय हुन् र जनताको हितका लागि पार्टीले प्रतिरोध सङ्घर्षको बाटो पकडिरहेको छ । विडम्बना, कथित वामपन्थी, कम्युनिस्टको सरकार भनिने सामाजिक दलाल पुँजीवादी सरकारले ती राष्ट्रघाती, जनघाती, भ्रष्ट तत्वहरूको रक्षार्थ हाम्रो पार्टीविरुद्ध दमन गरिरहेको छ । हामी जनता र देशको हित, न्यायपूर्ण आवाज र सङ्घर्षविरुद्ध हुने कुनै पनि प्रकारको दमनको सशक्त प्रतिरोध गर्ने विषयलाई आफ्नो कर्तव्य ठान्दछौँ । आफ्नो बन्दलाई सफल पारिदिन विप्लवले विज्ञेप्तीमार्फत यसरी अपिल गरेका छन, ‘हाल चलिरहेको फासिस्ट दमनलाई पनि कुनै हालतमा सहन गर्न सकिँदैन । जसरी शिवगढीका जनताले न्यायपूर्ण प्रतिरोध गरे त्यसरी नै देशव्यापी यसको उचित प्रतिरोध आवश्यक छ । यसैका लागि हाम्रो पार्टीले कपिलवस्तुको गोलीकाण्ड, देशभरि भइरहेको सेना, प्रहरी परिचालन र दमनका विरुद्ध यही फागुन ३० गते आमहडतालसहित नेपाल बन्द आयोजना गरेको छ । यो बन्दलाई यातायात, शिक्षा, स्वास्थ्य, कलकारखानालगायत सम्पूर्ण क्षेत्रहरू बन्द गरेर सहयोग पु¥याइदिनुहुन विशेष आग्रह गर्दछौँ ।’भ्रष्टाचारविरुद्ध उक्त पार्टीले गरेको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीले २४ गते सीके राउतसँग भएको राजनीतिक सहमति सार्वजनिक गर्ने एक कार्यक्रममा बोल्दै दमन गर्ने भाषा बोलेका थिए । केही दिनदेखि सरकारी नेकपाका अर्का अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले दमनको भाषा बोलेको भन्दै वक्तव्यमा भनिएको छ, ‘केही दिनअगाडि प्रचण्ड र केपीले दमनको धम्की दिनु र देशैभरि गोली चलाउने, सेना र प्रहरी परिचालनदेखि चरम दमन हुनुले उनीहरूको फासिवादी चरित्र उदाङ्गो भएको छ । हामी स्पष्ट गर्न चाहन्छौँ– उनीहरूले जस्तोसुकै दमन गरे पनि हाम्रो पार्टीको वैज्ञानिक समाजवादप्रतिको निष्ठा, श्रमिक जनताको मुक्ति, देशको स्वाधीनताका लागि गरिने सङ्घर्षमा केही फरक पर्नेवाला छैन, न त उनीहरूको दमन नै सफल हुनेछ बरु क्रान्तिकारीहरूलाई अरू दृढ र समर्पित हुन प्रेरित गर्नेछ । अन्ततः दमन र विद्रोहको इतिहासमा केपी—प्रचण्ड होइन, नेपाली श्रमिक जनता नै विजयी हुनेछन् ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई लक्षित गरी प्रहरीले देशका विभिन्न स्थानमा अप्रेसन तीव्र पारेको छ । यसै क्रममा चितवनका सौरालीटार, लोहार र कोरकमा प्रहरीले अप्रेसन चलाइरहेको जानकारी हाम्रा चितवन संवाददाताले दिएका छन् ।त्यसैगरी मकवानपुर गङ्गाडाँडा गाउँपालिकामा पनि प्रहरीले अप्रेसन चलाइरहेको जानकारी हाम्रा मकवानपुर संवाददाताले दिएका छन् ।
यता गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गरेका छन । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गरेका हुन । राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिए । उनले भने, “राज्यविरुद्ध लाग्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउछौँ ।” वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उनले भने, “देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।”
यस्तै गृहमन्त्री बादलले विप्लव समूहको गतिविधि धेरै समय नटिक्ने बताएका छन् । सरकार शान्ति–सुरक्षाका विषयमा गम्भीर रहेको भन्दै उनले विप्लव समूहले गर्दै आएको विध्वंसात्मक गतिविधि छिट्टै अन्त्य हुने बताए । कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार सुर्खेत आएका गृहमन्त्री थापाले पत्रकाहरूसँग कुराकानी गर्दै विप्लव समूह ठूलो चुनौती नभएको बताए । ‘विप्लव चुनौती त होइन, राष्ट्रको सुरक्षा चुनौती भने थोरै थपिएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भैइसकेकोले यस्तो खालको समूहले पहिलेको जस्तो सुरक्षामा ठूलै चुनौती भने ल्याउन सक्दैन । ’विध्वंसात्मक गतिविधि गर्न आवश्यक नरहेको भन्दै गृहमन्त्री थापाले मूलधारमा आउन आग्रह गरिएको बताए । ‘केही ठाउँहरूमा स्थानीय तहका जनप्रतिनिधिहरूलाई तर्साउने पनि विप्लव समूहले गर्दै आएको भन्ने सुनिएको छ । तर, त्यो धेरै टिक्नेवाला छैन,’ उनले भने । उनले राज्यविरोधी तत्वहरूले सुरक्षामा केही चुनौती खडा गरेकाले त्यसलाई सरकारले निस्तेज पार्ने दाबी गरे ।
यसैगरी नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन । गोरखा,सदरमुकाममा शनिबार पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेकाले वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए । उनले तराई विखण्डनको आन्दोलनमा लागेका सिके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लप नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने बताए । “सरकारले विप्लप नेतृत्वकोे दलको माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ”, उनले भने, “देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गर्नुभयो भने विप्लपहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ ।” डा भट्टराईले विप्लप नेतृत्वको पार्टीले अघि बढाएको राजनीतिक एजेण्डासँग आफ्नो सहमति हुन नसक्ने बताए । विप्लपले लिएको बाटो गलत भएको उनको भनाइ थियो । “सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन”, डा भट्टराईले भने । सरकारले सिके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने उनको भनाइ थियो । “हामी राजनीतिक असन्तुष्टि राख्नेलाई बोलाएर सरकारले छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ र समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा छाँै”, डा भट्टराईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *