काङ्ग्रेसद्वारा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी


म्याग्दी, २६ फागुन । सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चेतावनी दिएका छन । नेपाली काङ्ग्रेस म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको बीपी स्मृति कार्यालय भवनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन । देउवाले सरकारलाई आफ्नो कार्यशैली सुधार गर्न सुझाव पनि दिएका छन । संसदीय व्यवस्था, प्रजातान्त्रिक अधिकारमा हस्तक्षेप गरेको र सुशासन तथा सुरक्षा कायम गर्न सरकार असफल बन्दै गएको उनको आरोप छ । “राणा, पञ्चायत र राजा फाल्न जस्तै कम्युनिष्टका विरुद्ध पनि आन्दोलन गर्नुपर्ने अवस्था आयो”, सभापति देउवाले भने । दुई तिहाई बहुमत भए पनि सरकारले खासै काम गर्न नसकेको टिप्पणी गरे । बेनी नगरपालिका–४ स्थित प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा स्नान गरेपछि सभापति देउवाले सडक सुविधा र व्यवस्थापनमा ध्यान दिन सकेमा तातोपानी कुण्डको स्वास्थ्य उपचार केन्द्रका रुपमा विकास हुने बताए । काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले शुक्रबार सिके राउतसँग गरेको सम्झौता अधुरो र अस्पष्ट भएको टिप्पणी गरे । सम्झौतामा उल्लेखित जनमत भन्ने शब्दका कारण शङ्का पैदा गरेको नेता पौडेलले बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विकास र शासन गर्ने क्षमता नभएको आरोप लगाए । उनले वाइड बडी, सुनकाण्ड जस्ता अर्बाैँ रुपैयाँको भ्रष्टाचारको तथ्य बाहिरिँदासमेत सरकारले बेवास्ता गरेर भ्रष्टाचारी र अपराधीलाई संरक्षण गर्न खोजेको बताए । सभापति देउवाप्रति लक्षित गर्दै पौडेलले कम्युनिष्टको असफलतामा काङ्ग्रेसको भविष्य नदेख्न अनुरोध गरे । पार्टी भित्रको विवादलाई पारदर्शी ढङ्गले हल गरेर आन्तरिक एकतालाई बलियो बनाउन चाहेको उनको भनाइ थियो । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक वर्षमै सरकारले जनविश्वास गुमाइसकेकाले काङ्ग्रेसले आन्तरिक एकतालाई बलियो बनाएर देशको राजनीतिको नेतृत्व गर्नुपर्ने बताए । बेनीको सङ्गमचोकमा निर्माण गरिएको दुईतले भवनको सभापति देउवा र वरिष्ठ नेता पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए । रु ५१ लाख ३७ हजारमा खरीद गरिएको जग्गामा रु २९ लाख ५९ हजारको लागतमा सो भवन निर्माण गरिएको काङ्ग्रेस म्याग्दीका कोषाध्यक्ष टङ्क हमालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *