एसपी बिष्टसहित ८ प्रहरीविरूद्ध मुद्दा

काठमाडौं, २४ फागुन । बर्खास्तमा परेका एसपी डिल्लीराज बिष्ट र निलम्बनमा परेका डिएसपी अंगुर जिसीसहित आठ प्रहरीविरूद्ध बिहीबार जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर भएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा ८ प्रहरीविरूद्ध मुद्दा दायर भएको हो । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुद्दा दायर गरिएको छ । प्रमाण नष्ट गरेको अभियोगमा प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायब निरीक्षक रामसिंह धाँमी, हरिसिंह धाँमी र प्रहरी जवान चाँदनी साउदविरुद्ध पनि मुद्दा दायर गरिएको छ । तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्ट र केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीबाहेक अन्य छ जनालाई अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए । अदालतले आठ जना प्रतिवादीसँग आजैदेखि बयान सुरू गर्ने बताएको छ । प्रतिवादीमध्ये मुद्दा लागेका डिएसपी ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्रबहादुर खड्का, जगदीशप्रसाद भट्ट, सब इन्सपेक्टर हरसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउँद जिल्ला अदालतमा उपस्थित भएका छन् । तत्कालीन प्रहरी प्रमुख बिष्ट र घटनाको अध्ययन गर्न काठमाडौंबाट गएका डिएसपी (अहिले निलम्बित) अंगुर जिसी अदालतमा आएका छैनन् । प्रहरीले उनीहरूलाई फरार भनेको छ । यी दुबै जनाविरूद्ध अदालतले उपस्थित हुन म्याद सूचना जारी गर्ने स्रेस्तेदार अवस्थीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *