सिके राउतलाई सरकारी सुरक्षागार्ड

काठमाडौँ, २४ फागुन । राज्यविरुद्ध संगठित कसुर मुद्दामा थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो । साथै .राउतलाई सरकारको तर्फबाट सुरक्षाकर्मी उपलब्ध गराइएको छ । राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको हो ।राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो । राज्यविरुद्ध संगठित कसुर मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई सर्वोच्चले बिहीबार बदर गरेको हो । यसअघि २०७१ सालमा पनि राउतविरुद्ध राज्यविप्लवको मुद्दा लगाइएको थियो । राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३ उपदफा १ अनुसार सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पार्ने उद्देश्यले अभियान चलाएको आरोपमा राउत विरुद्ध मुद्दा दायर गरिएको थियो । अब उनले साधारण तारेखमा रही उक्त मुद्दा खेप्न पाउने छन् । राउतलाई गत असोजमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई गैर कानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट गत मंसिर १७ गते खारेज भएपछि उनलाई थुनामै राखी राज्यविरुद्धको कसुर मुद्दामा अनुसन्धान गर्ने बाटो खुलेको थियो । सोही मुद्दामा रौतहट जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेश भने आज सर्वोच्च अदालतले बदर गरिदिएको हो । ऐनमा ’कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा निजलाई जन्म कैद हुने’ उल्लेख छ । तर उनले आफ्नो पुस्तक र वेबसाइटमा लेखिएका विषयलाई पनि लेखेको होइन भनी झुटो बयान दिएर उम्किएका थिए । आफ्ना पुस्तकमा अलग्गै राष्ट्रका बारेमा वकालत गरे पनि बयानका क्रममा भने उनले देश टुक्राउन नखोजेको बरु राष्ट्रिय एकता र समृद्धिको कुरा गरेको जिकिर गरेका छन् । मधेश राष्ट्रको प्रस्तावित राष्ट्रिय गान र झण्डा अनि नक्साको प्रचार गरिरहेका उनले अदालतमा चाहिँ राष्ट्रिय गान र झण्डा कुनै प्रदेश वा क्षेत्रको पनि हुन सक्ने भनी जोगिन खोजेका थिए । २०७२ वैशाखमा सरकारले राउतमाथि लगाएको राज्य विप्लवको आरोप कुनै पनि कागज, प्रमाण तथा साक्षीबाट प्रमाणित नभएको भन्दै सफाइ दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *