नेतृत्वलाई दबाब दिने पक्षमा पौडेल र सिटौला समूह


काठमाडौं, २४ फागुन । महासमितिको निर्णयअनुसार अघि बढ्न नेतृत्वलाई दबाब दिने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह रहेको छ । सभापति शेरबहादुर देउवा पक्ष पेलेरै अघि बढ्ने देखिएको भन्दै पौडेल, सिटौला पक्ष सामूहिक धारणा बनाएर जाने तयारीमा छन् । पौडेल, सिटौलासहित पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा मंगलबार र बुधबार छलफल पनि भएको थियो । नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ४ गते बस्ने भएको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा नयाँ विधान कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने शर्माले बताए । केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरूले बैठकमा भाग लिने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । फागुन १२ मा बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा महाधिवेशन प्रतिनिधि हुन केन्द्रीय सदस्यले चुनाव लड्न नपर्ने गरी विधानमा राख्ने निर्णय गरेको थियो । महासमिति बैठक र जिल्ला सभापतिको मागविपरीत सभापति शेरबहादुर देउवा समूहले बहुमतको आडमा एकलौटी ढंगले विधान बनाएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले लिखित असमति राखेका थिए । अब बस्ने केन्द्रीय समिति बैठकले अनुशासन समिति गठन गर्ने चर्चा छ । पाँच सदस्यीय अनुशासन समितिमा पौडेल समूहले दुई सदस्य मागेका छन् भने सिटौला समूहले एक जना मागेको छ । पौडेल र सिटौला मिलेर तीन सदस्य लिने र देउवा पक्षलाई अल्पमतमा पार्ने रणनीति लिएको स्रोतको दाबी छ । तर देउवा पक्ष आफूहरू अल्पमतमा पर्ने गरी पौडेल, सिटौलाले मागेअनुसार सदस्य दिन तयार छैन । कांग्रेसले भातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनमा पनि निर्णय गर्न सकेको छैन । १२ औं महाधिवेशन गर्न नसकेपछि सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ । विधान अनुसार ३२ वर्षे उमेरहद लगाउनुपर्ने र तदर्थ समिति बनाउँदा उमेर हद लगाउन नहुने पक्ष नेविसंघभित्र छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *