अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै


काठमाडौँ, २४ फागुन । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् । सरकार र विभिन्न राजनीतिक दलहरुले समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा महिला र पुरुषको समान ज्याला वा समानताको रुपमा हेरिएको सो दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन । शुक्रबार १०९औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपतिले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आआफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गर्नुभएको छ । उहाँले सबै महिलाको हकअधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छिन । “संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा सबै महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ”, सन्देशमा भनिएको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्रा्ष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन । “हाम्रो समाजमा विद्यमान दाइजो प्रथा, बोक्सीको नाममा हुने ज्यादति, छाउपडीजस्ता कूरीतिका साथै यौन दुव्यर्वहार र हिंसाका घटनाले नारीको सम्मान गर्ने हाम्रो मौलिक सभ्यतालाई चुनौति दिइरहेका छन् । अब हामीले विलम्ब नगरी विभेदर कूरीतिको अन्त्य गर्दै न्याय र समानतामा आधारित सभ्य समाजनिर्माण गर्न सक्नुपर्दछ ।” प्रधानमन्त्रीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै सङ्घीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गरेका छन । त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन । एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन । “हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको ठूलो खतरा, आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक र सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो । काङ्ग्रेस सबैखाले हिंसाको अन्त्य चाहन्छ । महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु”, विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *