सडक दुर्घटनामा २ जनाको मृत्यु

 

काठमाडौँ, २० फागुन । झापा र रामेछापमा भएको सडक दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । सोमबार राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेको थियो । दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएको छ । घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।
यसैगरी मन्थली नगरपालिका–२ करमबोटमा सोमबार माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक महिला गम्भीर घाइते भएकी छिन् । मृत्यु हुनेमा माइक्रोबसका धनी काठमाडौँ मनमैजुका ४५ वर्षीय कर्मा लामा रहेको प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए । दुर्घटनामा परी मन्थली नगरपालिका–२ की अञ्जना खड्का घाइते भएकी छिन् । मन्थलीबाट मालुखोलातर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा१ज ९९०१ नंको माइक्रोबस दुर्घटनामा परेको हो । घाइते लामाको उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । अर्का घाइते खड्कालाई उपचारका लागि काठमाडौँ लगिएको छ । गाडी सडकबाट करीब १०० मिटर तल तामाकोसी नदीमा खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *