राहत शिक्षकमाथि पानीको फोहोरा र अश्रुग्यास

 

काठमाडौं, २० फागुन । राहत र बालविकास शिक्षकहरुले पेशागत स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा गरेको प्रदर्शमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ । प्रदर्शनका क्रममा केही शिक्षक घाइते भएका छन् । अश्रुग्यासका कारण पैदलयात्री र सर्वसाधारण पनि प्रभावित भएका छन् । यसअघि आइतबार पनि प्रदर्शनका क्रममा राहत शिक्षकमाथि प्रहरीले पानीको फोहोरा हानेको थियो ।
यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पु¥याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ । वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न आग्रह गर्दै मन्त्रालयले निर्वाध पठनपाठन र सञ्चालनको वातावरणका लागि पहल कदमी लिन स्थानीय तहलाई स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायीको माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा सबै पक्षको सहभागितामा सरकारले शिक्षाको नयाँ विधेयक तर्जुमा गरिरहेको र विधेयक बन्ने प्रक्रिया लामो हुने भएकाले प्रारम्भिक चरणमा तरङ्गीत नहुन सम्बन्धित पक्षमा आह्वान पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *