प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप कांग्रेसलाई स्वीकार्य हुँदैन ः देउवा


काठमाडौँ, २० फाल्गुन । प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले सोमबार चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उनले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताए । देउवाले भने, ‘सरकार प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्न खोज्दैछ, यो कांग्रेसलाई कदापि स्वीकार्य हुँदैन ।’ सरकारले प्रेस माथि पनि विभिन्न बहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए । १९९० सालमा भक्तपुरको सुडाल जितपुरफेदीमा जन्मि २०११ सालबाट नेपाली कांग्रेसबाटै राजनीतिक यात्रा सुरु गरेको स्वर्गीय पण्डितले आन्दोलनकै क्रममा २०१९ सालदेखि २०३४ सालसम्म १६ वर्ष जेल सजाय भोगेका थिए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागी भएका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले पण्डितको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउँदै उनको योगदानको अनुशरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानु पर्नेमा जोड दिए । त्यस अवसरमा नेपाली कांग्रेसका पूर्वसभापति तिलक कायस्थ, भक्तपुर क्षेत्र नं. १ का सभापति जीवन खत्री, क्षेत्र नं. २ का सभापति नारायण खायमली, नेता माथवरसिंह बस्नेतलगायत, युवा नेता यादव अधिकारी लगायतले प्रजातन्त्रका सेनानी पण्डितको योगदानको चर्चा गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आठौं स्मृति दिवसमा सोमबार पार्टी कार्यालय हेटौंडामा अन्र्तक्रिया कार्यक्रम गरेको छ । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले भट्टराईको देश र जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए ।कार्यक्रममा सचिव आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, सुनिल दाहाल, ईश्वरलाल श्रेष्ठ, सल्लाहकार प्रभात दाहाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *