महामन्त्री चन्दसहित २२ जनाले राप्रपा परित्याग गरे

 

काठमाडा,ैं फागुन १२ । राप्रपाका महामन्त्रीसहित २२ जना नेताहरुले पार्टी परित्यागको घोषणा गरेका छन् । कमल थापाले नेतृत्व गरेको राप्रपाका महामन्त्री जयन्त चन्दसहित २२ जनाले पार्टी परित्याग गर्ने घोषणा गरेका हुन् । संगठन सुदृढिकरणका लागि राष्ट्रिय स्वाभिमान यात्रा सुरु हुनु चार दिन अघि चन्दसहितका नेताहरुले राप्रपाबाट अलग भएको घोषणा गरेका हुन् । राप्रपाबाट अलग भएको घोषणा गर्नेहरुको सूचीमा चन्दको नाम पहिलो नम्बरमा छ । उनी चन्द पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन् । पार्टी परित्याग गर्नेमध्ये १४ जना केन्द्रीय सदस्य रहेको दाबी गरिएको छ । बाँकी ८ जना पार्टीका विभिन्न विभाग र निकायको महत्वपूर्ण जिम्मेवारीमा रहेको महामन्त्री जयन्त चन्दको दाबी छ । चन्दले आफूसहितका २२ नेताले राप्रपा परित्यागको निर्णय लिएको बताए । उनले भने, ‘विगतदेखि नै हामीले ३ वटै राप्रपा एक हुनुपर्छ भन्दै र प्रयास गर्दै आएका हौं तर सो प्रयास सफल हुन नसकेपछि १४ केन्द्रीय सदस्यसहित २२ जनाले पार्टी परित्यागको निर्णय लिएका छौं ।’पार्टी परित्याग गर्नेमा महामन्त्री जयन्त चन्दसँगै भरत गिरी, दिनेश श्रेष्ठ, प्रह्लाद शाह, गोविन्द खनियाँ, भरत प्रसाद पाठक, सानुकाजी हेमा, चिरागमान सिंह कुँवर, रिता पोखरेल, सुन्दर खड्का, गणेश सिंह, बिन्दा गिरी, भरत बहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्कीलगायत रहेका छन् ।
पार्टी परित्याग गरेका सबै केही दिनमा राप्रपा प्रवेशको तयारीमा रहेको बुझिएको छ । चन्दले आफूहरु अब कसरी अघि बढ्ने भन्नेमा छलफलमा रहेको भन्दै केही दिनमा राप्रपा संयुक्तमा प्रवेश गर्ने या नयाँ ढंगले अघि बढ्ने भन्नेमा निर्णयमा पुगिने जानकारी दिए । कमल थापासँग एकीकरणबारे सहमति हुन नसकेपछि डा प्रकाशचन्द्र लोहनी नेतृत्वको तत्कालीन एकीकृत राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकबीच एकता भएर राप्रपा संयुक्त घोषणा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *