देशभरका एनसेल टावरमा विष्फोट र आगजनी, सुरक्षा व्यवस्थामा थप कडाइ, १६ जना पक्राउ

काठमाडौँ, १२ फागुन । देशभरका एनसेल टावरमा विष्फोट र आगजनी भएको छ । घटनापछि देशभर सुरक्षा व्यवस्थामासमेत थप कडाइ गरिएको छ । एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । उपत्यकाबाट ६ जना र अन्य जिल्लाबाट १० गरी १६ जना पक्राउ परेका हुन । अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेका विभिन्न ठाउँमा रहेका एनसेलका टावरमा पनि परिचय नखुलेको समूहले आगजनी गरेको छ । एनसेलका धेरै टावरमा विष्फोट र आगजनी गरिएको घटनामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीको संलग्नता रहेको आशंका गरेको छ । तर विप्लव नेतृत्वको माओवादीले भने घटनाको जिम्मेवारी लिएको छैन ।ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो । गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन । उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिए । यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।यसैगरी विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष एवं सो पार्टीकी केन्द्रीय सदस्य बन्धु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ ।नेकपाले चलाएको संगठन सुदृढीकरण तथा विस्तार अभियानका क्रममा उनलाई अछामबाट प्रहरीले गिरफ्तार गरेको हो । चन्दलाई अछामको पुन्नीतलाबाट प्रहरीले शनिबार गिरफ्तार गरेको नेकपाले जनाएको छ ।नेतृ बन्धु नेकपाले सञ्चालन गरेको माघ १ गते देखि सुरु गरेको संगठन सुदृढीकरण तथा विस्तार अभियान २ को प्रमुख समेत रहेकी छिन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी सार्लाहीका तीनजना नेता–कार्यकर्तालाई प्रहरीले शनिबार गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूमा जिल्लाको क्षेत्र नं. एकका इन्चार्ज सीताराम शाह, जुमराती मन्सुर र मानबहादुर वाइबा छन् । शाहलाई चन्द्रनगर गाउँपालिका ४ बाट, जुमराती मन्सुरलाई वडा नं. ५ बाट र वाइबालाई बागमती नपा ११ बाट गिरफ्तार गरिएको नेकपा जनकपुरले जनाएको छ ।पार्टीका नेता–कार्यकर्तालाई प्रहरीले आआफ्नै घरबाट बिनाकरण गिरफ्तार गरेको जानकारी पनि नेकपाले दिएको छ । पार्टीले सरकारको उक्त घटनाप्रति आपत्ति जनाउँदै तीनैजनालाई तत्काल रिहा नगरे सङ्घर्षमा जाने चेतावनी पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *