दलाल, तस्कर, भ्रष्टचारी, मेनपावर सञ्चालक र लागूपदार्थ दुव्र्यसनीलाई विप्लव नेतृत्वको युवा सङ्गठन नेपालले कडा कारबाही गर्ने

काठमाडौँ, ९ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको युवा सङ्गठन नेपालले लागूपदार्थ दुव्र्यसनी गर्ने र गराउनेहरूमाथि कडा कारबाही गर्ने, लापरबाही गर्ने मेनपावर व्यवसायीहरूलाई कारबाही गर्ने, यौन व्यवसाय सञ्चालकहरू तथा दलाल, तस्कर, र भ्रष्टहरूलाई कारबाही गर्ने निर्णय बुधबार बसेको बैठकले गरेको युवा सङ्गठनले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी झापाअन्तर्गत रहेको युवा सङ्गठन नेपालको तेस्रो जिल्ला सम्मेलनपछि प्रथम बैठकले यस्तो निर्णय गरेको हो । सङ्गठनका जिल्ला अध्यक्ष सेसेहाङ लिम्बूको अध्यक्षतामा बसेको बैठकमा मुख्य अतिथि सङ्गठनका मेची संयोजक निमा थिए भने पार्टीका जिल्ला सचिव सुमनसिंह पौडेलको विशेष उपस्थिति थियो । युवा सङ्गठनका मेची संयोजक निमाले युवाहरूलाई योजनाअनुसार सशक्त भएर लाग्न आह्वान गरे । युवाहरूले सबैतिर हस्तक्षेप गरेर अघि बढ्नुपर्ने उनले बताए । बैठकमा प्रशिक्षण दिँदै नेकपा झापा सेक्रेटरी पौडेलले भ्रष्टहरूले षड्यन्त्रमूलक ढङ्गले कब्जामा लिएका विकासका योजनाहरू खोसेर युवाहरूले लिनुपर्ने बताए । दलाल, तस्कर र भ्रष्ट जनप्रतिनिधिहरूले स्थानीय स्तरमा हुँदै गरेका कामहरूमा भ्रष्टाचार गरेकाले नेकपाका युवाहरूले सिङ्गो सङ्गठनलाई परिचालन गरेर आफ्नो पहलमा काम गर्न उनले निर्देशन दिए । आफैँ श्रम गरी उत्कृष्ट काम गरेर जनतालाई दिनुपर्ने र त्यसका लागि भ्रष्टहरूको कब्जामा रहेका सबै काम खोसेर अघि बढ्नुपर्ने पौडेलले बताए ।प्रशिक्षणका क्रममा सेक्रेटरी पौडेलले भने, ‘अब सबै युवाहरूलाई क्रान्तिमा ल्याउनुपर्छ । राज्यको गैरजिम्मेवारीपनका कारण युवाहरूको हालत तहसनहस भएको छ । युवाहरूलाई क्रान्तिमा सहभागी गराएर एकीकृत जनक्रान्ति पूरा गर्नुपर्ने उनको भनाइ थियो । अब क्रान्ति नजिक आइरहेकाले युवाहरूले आफूलाई सैन्यीकृत गर्नुपर्ने स्थिति आएको पनि उनले बताए ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहित चारजना नेतालाई बुधबार नेकपाले अभिनन्दन गरेको छ । नेकपा अर्घाखाँची–गुल्मी अभियान प्रमुख रहेका नेकपा केन्द्रीय सदस्य सन्देश पौडेलले रिहा भएका नेताहरूलाई अबिर लगाएर अभिनन्दन गरेका हुन् । अभिनन्दित हुनेमा नेकपा गुल्मी जिल्ला इन्चार्ज सिंह, सोही जिल्लाका सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला जनसरकार प्रमुख पिताम्बर पोख्रेल र कपिलवस्तु जिल्ला सदस्य टुपलाल पुन छन् ।सङ्गठन सुदृढ र विस्तार अभियान २ मा सहभागी नेकपाका नेताहरूलाई अर्घाखाँची छत्रदेव गाउँपालिका मणेचौरमा कार्यक्रम गरिरहेको बेला प्रहरीले गिरफ्तार गरेको थियो । आफ्ना गिरफ्तार नेताहरूलाई बिनासर्त रिहाइको माग गर्दै लुम्बिनी बन्दको आह्वान गरेको अघिल्लो दिन मङ्गलबार साँझ नेकपाका नेताहरू धरौटीमा रिहा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *