लडेर भएपनि प्रजातन्त्रको रक्षा गर्ने देउवाको दावी

वीरगञ्ज, ९ फागुन । लडेर भएपनि प्रजातन्त्रको रक्षा गर्ने नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दावी गरेका छन । वीरगञ्जको आदर्शनगरस्थित चारतारे होटल दियालो लर्डको बुधबार उद्घाटन गर्दै सभापति देउवाले कुनै पनि हालतमा भए पनि लडेर प्रजातन्त्रको रक्षा गर्ने बताएका हुन । प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को क्रान्ति वीरगञ्जबाटै शुरु भएकाले यसको रक्षा गर्न नेपाली काङ्गे्रस सदैव तयार रहेको भन्दै पूर्व प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्व बोकेको वीरगञ्जको विकासका लागि नेपाली काङ्ग्रेस सधैँ तयार रहेको बताए ।सभापति देउवाले नेपाली काङ्गे्रसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन । वर्तमान सरकारले उद्योगधन्दाको विकास गर्न नचाहेको भन्दै उनले वर्तमान सरकारले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउन नसकेकाले उद्योगधन्दा फस्टाउन नसकेको बताए । उनले भारतीय बजार नजिकै रहेकाले वीरगञ्जमा विदेशी लगानीकर्ता आकर्षित हुने भएकाले लगानी गर्ने वातावरण बनाउनेतर्फ वर्तमान सरकारले जोड दिनुपर्ने बताए । सो अवसरमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले लगानीकर्तालाई आकर्षित गर्ने तथा लगानी गर्ने वतावरण बनाउन सके मुलुकको अन्य प्रदेशभन्दा प्रदेश नं २ नमूना प्रदेश बन्ने बताए । नीति निर्माताका कारण प्रदेश नं २ को विकास हुन नसकेको भन्दै उनले मुलुकको हितभन्दा निश्चित व्यक्तिको हित भइरहेकाले प्रदेश नं २ मा उद्योगधन्दाको विकास हुन नसकेको बताए । सो अवसरमा पूर्वमन्त्री डा प्रकाशशरण महतले देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली काङ्ग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए । सांसद प्रदीप गिरी, विनोदकुमार चौधरी तथा पूर्व सांसद तथा उद्योगपति अनिल रुगङ्टाले निजीक्षेत्रको लगानीले अर्थतन्त्रको विकासमा योगदान प¥ुयाउने भएकोले प्रदेश नं २ को आर्थिक विकासका लागि सरकारले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी सभापति देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताएका छन ।
नेपाली काङ्ग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पु¥याउने सबैलाई कारवाही हुने स्पष्ट पारे । सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिए ।
“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाले प्रस्ट पारे । कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । उनले सरकारको कमी कमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि सङ्र्घषमा होमिन काङ्ग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गरे । नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि सरकार बेखबर रहेकोे आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *