अखिल (क्रान्तिकारी)द्वारा भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी,एकीकृत जनक्रान्तिको धारमा आउन सेना–पुलिसलाई आग्रह

काठमाडौँ, ६ फागुन । नेत्रबिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको निकट अखिल (क्रान्तिकारी)ले भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । आइतबार त्रिचन्द्र कलेजमा गरिएको विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य हर्क विकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त रामनारायण पाठकलाई कारबाही गर्न माग गरेका छन। कार्यक्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य विकले भक्तपुरमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक लम्बोदर न्यौपानेले आफ्नो निजी सम्पत्ति बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घूस दिएको बताए । यस्ता भ्रष्टाचारीलाई राज्यले कारबाही नगर्ने हो भने सङ्गठनले भ्रष्टाचारीलाई कारबाही गर्ने चेतावनी उनले दिए ।कार्यक्रममा अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालयका संयोजक ललित विकले भ्रष्टाचारीहरूलाई कारबाही गर्नुको साटो राज्यले नै थप प्रोत्साहन दिएको भन्दै राज्यले आमनागरिक र राष्ट्रियताको रक्षागर्न नसक्ने हो भने नेकपाले गर्ने बताए । काठमाडौँ शान्तिबाटिकामा आयोजना गर्न लागिएको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेपका कारण त्रिचन्द्र कलेजमा गरिएको थियो ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीका जनवर्गीय सङ्गठनहरूको संयुक्त जनसभा झापाको भद्रपुरमा सम्पन्न भएको छ । जनसभामा नेकपाका पोलिटब्युरो सदस्य तथा भूमिहीन सुकुमबासी महासङ्घका अध्यक्ष ओमप्रकाश पुन प्रमुख अतिथि थिए ।सभालाई सम्बोधन गर्दै नेकपाका नेता पुनले केपी ओलीहरू दलाल पुँजीवादी दलाल र प्रचण्ड–बाबुराम र बादल क्रान्तिको भगौडा र पुँजीवादी पिँजडाभित्रका सुगा भएको बताए । उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरूसँग आफूहरूको दुस्मनी नभएको र राष्ट्रिय स्वाधीनताका निमित्त प्रहरी–सेना सबै नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको धारमा आउनुपर्ने बताएका छन् । उनले पुलिस–सेना केपी–बादल–प्रचण्डहरूका कार्यकर्ता नभएर देशको सेवक भएकाले राष्ट्रिय स्वाधीनता र सीमारक्षाका लागि नेकपासँगै लाग्न आग्रह गरे । वर्तमान दलाल राज्यसत्तामा धमिरा लागिसकेकाले वैज्ञानिक समाजवाद टाढा नरहेको उनको भनाइ थियो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको प्रभाव स्वरुप देशभरबाट पार्टीमा युवाहरूको आकर्षण बढ्नुका साथै पूर्णकालीन हुनेको सङ्ख्या बढेको छ ।अभियान सुरु भएको केही दिनमै जनकपुर ब्युरोअन्तर्गत सिन्धुली जिल्लाबाट मात्रै तीनजना पार्टीमा पूर्णकालीन भइसकेका छन् । उक्त ब्युरोमा जारी अभियानको नेतृत्व पार्टी पीबीएम उमा भुजेल ‘शिलु’ ले गरिरहेकी छिन् । जिल्लाको गोलन्जर गाउँपालिकास्थित दमैडाँडाकी सुविक्षा नेपाली नेपाल कम्युनिस्ट पार्टीमा पूर्णकालीन कार्यकर्ता भएकी छिन् ।छोरी सुविक्षालाई पार्टीमा पूर्णकालीन कार्यकर्ता बनाएर सीताले अभियान टोली प्रमुख शिलुको जिम्मा लगाइन् । यस घटनाले जनयुद्धको जीवन्त झल्को मिलेको प्रमुख शिलुले बताइन् । बिदाइको क्षणमा भावविभोर बनेकी आमा सीताले भनिन, ‘हामी सधैँ कति दबिएर बस्नु ? छोरीले राम्रोे गरेर देखाउनुपर्छ । छोरी घरबाट गए पनि आमाभन्दा असल ठूली दिदीको साथमा गएकी छे । यसबाट म खुसी छु ।’छोरी क्रान्तिमा गएपछि आफूहरूले कसैको हेपाइ र चेपुवा सहनु नपर्ने विश्वास आमा सीताले व्यक्त गरिन् ।सिन्धुलीबाटै राजु रम्तेल र राजु ठकुरी पनि पार्टीमा पूर्णकालीन भएका छन् । अभियानका क्रममा स्वेच्छाले नेपाली क्रान्तिमा भर्ती हुन चाहनेको सङ्ख्या दैनिक बढेको छ ।यस्तै सगरमाथा र कोसी व्युरोबाट ६–६ जना पूर्णकालीन भएका छन् । भोजपुरको अरुण गाउँपालिकाबाट धनबहादुर राई, सुमन राईलगायत रहेका छन् भने त्रियुगा नगरपालिका ६ बाट रामकृष्ण सदालगायत छन् ।अभियान टोलीका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य सञ्जीवले नेकपामा पूर्णकालीन हुनेको सङ्ख्या र युवाहरूको आकर्षण बढेको बताए । उनले अन्य विभिन्न पार्टीमा सक्रिय राजनीति गरेका र निर्वाचनमा उम्मेदवार बनेकाहरू पनि पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरिरहेको बताए ।कोसी ब्युरोअन्तर्गत धनकुटाको साँघुरीगढी ७ बाट सहदेव राई, प्रकाश राई, थामबहादुर राई र देउमान राई अभियानकै क्रममा पार्टीमा पूर्णकालीन भएको समाचार प्राप्त भएको छ । यस्तै कैलालीबाट पनि अभियानकै क्रममा २० जना पूर्णकालीन भएको जानकारी जिल्ला इन्चार्ज विवेक कुमालले दिए ।जनकपुर ब्युरोको अभियान टोलीकी प्रमुख शिलुले अभियानका क्रममा नेकपाप्रति युवा वर्गको आकर्षण बढेको बताइन् । जनताको घरदैलोमा पुगेर उनीहरूसँगै छलफल र जनश्रमदानमा अभियन्ताहरू जुटेको र यसले राम्रो प्रभाव पारेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *