सरकारले जनमत र जनविस्वास गुमाउँदै गएको काँग्रेसको ठहर

काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारको १ वर्षे कार्यकालको समीक्षा गरेको छ । एक वर्षे कार्यकालमा ओली सरकारले जनमत र जनविस्वास दुबै गुमाउँदै गएको काँग्रेसले ठहर गरेको छ । काँग्रेसले आइतबार पत्रकार सम्मेलन गरी सरकारसँग नागरिकको मुल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजार मुल्य र उ प्रतिको भरोसा र विश्वासको हुने बताउँदै यी तिनै सन्दर्भमा सरकार असफल भएको दाबी गरेको छ । नागरिकको विश्वासलाई विर्सजित गर्नमा चाहिँ सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको काँग्रेसले जनाएको छ । यस्तै काँग्रेसले प्रधानमन्त्रीमा शासकीय योग्यताको संकेत नदेखिएको दाबी गरेको छ ।
‘कुनै पनि मुलुकका नागरिकको आफ्नो प्रधानमन्त्रीसंग विशेष अपेक्षा हुन्छ शासकीय योग्यताको । तर इतिहासमै सबैभन्दा सहज राजनैतिक वातावरण प्राप्त भएर पनि वर्तमान प्रधानमन्त्रीले वितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रर्दशीत गर्न सक्नु भएन’ काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलनमा बाचन गरेको विज्ञप्तिमा भनिएको छ । रमाईला, आवेग भरिएका, हलुका अभिव्यक्ति र उपदेश छाँटिएका, सपनाका हवाई उडान ओलीले गरेको भन्दै काँग्रेसले भनेको छ, ‘ राम्रै मनोरञ्जन दिएका उहाँका छोटा–लामा निकै भाषणहरु चर्चामा रहे तर प्रधानमन्त्रीसंग मूलत नागरिक अपेक्षा जिम्मेवार शासनको हुन्छ लच्छेदार भाषणको होइन ।’ नागरिकले परिणाम चाहने भएपनि सरकारको एक वर्षे कार्याकाल हेर्दा आगामी वर्षहरुका लागि सुखद र सुन्दर संकेतहरु देखा नपरेको पनि काँग्रेसले जनाएको छ । ‘इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने शास्वत सत्य बुझ्न नसक्दा बितेको एउटा वर्षमा व्यवहारिक गम्भीरता र शाशकीय योग्यताको विकास तर्फ प्रधानमन्त्रीको क्षमता देखिएन । त्यसले आगामी चार वर्षका लागि पनि चुनौतीको संकेत गरेको छ’। काँग्रेसले भनेको छ । यस्तै पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति जनविश्वास घढ्दै जानुमा ५ कारण प्रस्तुत गरेका छन् । जसमा डा.गोविन्दको केसीको माग पूरा गर्न उदासीनता देखाइएको, बूढीगण्डकी जलविद्युत निर्माणको जिम्मा विदेशी, कम्पनीलाई दिइएको, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न नसकेको र निर्दोषलाई फसाउन खोजिएको तथा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दलले जबरजस्ती गरिएको उल्लेख गरिएको छ ।
यसैगरी नेपाली काङ्ग्रेसले चितवनले प्रत्येक स्थानीय तहमा आफ्ना नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन थालेको छ । गत निर्वाचनमा जिल्लाका अधिकांश स्थानीय तह, प्रदेश र सङ्घमा पराजय भोगेको यहाँको काङ्ग्रेसले नेता कार्यकर्तालाई प्रशिक्षण दिन थालेको हो । हरेक वडा समितिका नेतृत्व तहलाई प्रशिक्षक झिकाएर बन्दकोठामा प्रशिक्षण शुरु गरेको हो । नेपाली काङ्ग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले गत महीनाबाट अभियान शुरु गरिएको जानकारी दिए । गत माघ १२ गते माडीमा पार्टीका केन्द्रिय सदस्य गगनकुमार थापाको उपस्थितिमा प्रशिक्षण गराइएको थियो । सभापति श्रेष्ठका अनुसार माघ १६ गते खैरहनी नगरपालिकामा पार्टीका नेता धनराज गुरुङ र जीवन परियारले प्रशिक्षण दिएका थिए । त्यसै गरी माघ १९ गते राप्ती नगरपालिकामा पूर्वमन्त्रीसमेत रहेका काङ्ग्रेस नेता महेश आचार्य र बद्री पाण्डेले प्रशिक्षण दिएका थिए । काङ्ग्रेस भरतपुर नगरसमितिले यही फागुन ७ गते पुरुषोत्तम दाहाल र जीवन परियार बोलाएर प्रशिक्षण दिन लागेको समितिका सभापति भरत अधिकारीले बताए । यसै गरी रत्ननगर नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा पनि प्रशिक्षण गर्ने तयारी भइरहेको काङ्ग्रेसले जनाएको छ ।
सभापति श्रेष्ठले पार्टीको हालै मात्र सम्पन्न महासमिति बैठकले गरेका निर्णयका बारेमा स्थानीय तहका नेताहरुलाई जानकारी गराउन, सरकारका गलत गतिविधिका बारेमा प्रशिक्षित गराउन, काङ्ग्रेसको सिद्धान्त व्यवहारमा उतार्न र आउँदो निर्वाचनमा सबै तहमा जीत सुनिश्चित गर्न जिल्ला व्यापी रुपमा प्रशिक्षण थालिएको हो । प्रशिक्षणमा हरेक वडाबाट कम्तिमा ४० प्रतिशत महिलासहित १० जना स्थानीय नेतालाई प्रशिक्षणमा राखिएको छ ।
यस्तै नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारमा सङ्लग्नलाई राजीनामा गराएर उन्मुक्ति दिन नहुने बताएका छन । आइतबार तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य राजनारायण पाठकमाथि कडा कारवाही हुनुपर्दछ भने । देश विकासको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारमा सङ्लग्नलाई कडाभन्दा कडा कारवाही गर्नेतर्फ सरकार अग्रसर हुनुपर्ने बताए । वरिष्ठ नेता पौडेलले सुशासन र शान्ति सुरक्षा विकासको पहिलो शर्त भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *