नेपाली काङ्ग्रेसलाई एकताबद्ध बनाउन कोइरालाको जोड

 

काठमाडौँ, ५ फागुन । नेपाली काङ्ग्रेस भित्रकोे गुट–उपगुटले काङ्ग्रेसलाई कमजोर बनाएकाले जनताका मुद्दामा सङ्घर्ष गर्नका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले जोड दिएका छन । शनिबार गिरिजाप्रसाद कोइराला फाउण्डेशन पर्साको कार्यालय उद्घाटन तथा फोटो प्रदर्शनी कार्यक्रम वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री डा कोइरालाले यस्तो बताएका हुन ।
वीरगञ्जको आदर्शनगर,बालमन्दिर विद्यालय परिसरमा आयोजना भएको कार्यक्रमबीच फाउन्डेशनको शाखा उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुलाई १२१ किलो फूलको मालाले भव्य स्वागत गरिएको थियो । स्वर्गीय कोइरालाकी छोरी तथा फाउन्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइराला, कांग्रेस महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइरालाई स्थानीय कांग्रेस नेताहरूले उक्त माला लगाई स्वागत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले नेपाली काङ्ग्रेस भित्रको गुट–उपगुटले पार्टीलाई कमजोर बनाएको धारणा व्यक्त गरेका छन । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरुले पार्टीभित्रको गुट–उपगुटलाई समाप्त नपारे सङ्घीयता नै धरापमा पर्ने खतरा उत्पन्न भएको विचार व्यक्त गरे । कार्यक्रममा जिपी फाउण्डेशनकी केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले स्व गिरिजाप्रसाद कोइरालाले राखेको संसद् पुनस्र्थापनाको जगले नै राष्ट्रलाई निकास दिएको तथ्यलाई कसैले पनि बिर्सिन नहुने चर्चा गरिन । उनले जिपी कोइराला फाउण्डेशनले देशभरि सामाजिक कार्य मात्र गर्ने जानकारी दिईन । जिपी कोइराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसका नेताहरुभित्र अहिले नैतिकता र संस्कारको कमी भएको धारणा व्यक्त गरे । “नैतिकता नभएका व्यक्तिले राजनीतिक गर्नु नै सामाजिक अपराध हो र नैतिकता तथा संस्कारको कमी नेपाली काङ्ग्रेस पार्टीभित्र देखिएको छ,” उनले भने । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, अफताब आलम, अजयकुमार चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका वक्ताले मुलुकमा बढ्दै गएको महँगी, हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारले नेपाली जनता मारमा परे पनि सरकारले केही नगरेको आरोप लगाए । सो अवसरमा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पाँच जना व्यक्तिलाई महामन्त्री डा कोइरालाले दोसल्ला ओढाई सम्मान गरेका थिए । स्व गिरिजाप्रसाद कोइरालाको जीवनका महत्वपूर्ण घटनालाई दर्शाउने तस्बीरहरुलाई कार्यक्रममा प्रदर्शित गरिएको थियो ।
यसैगरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले सिद्धान्तको राजनीति आवश्यक भएको बताएका छन । नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा शुरु गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने बताए । उनले भने, “सिद्धान्तको राजनीतिले नेपाललाई युरोपतिर पु¥याउँछ, सांस्कृतिक द्वन्द्वका राजनीतिले नेपाललाई रुवान्डा र सोमालियातिर पु¥याउँछ ।” वरिष्ठ नेता पौडेलले प्रजातान्त्रिक समाजवादको आदर्शले मात्रै सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समान अवसर दिने बताए । वरिष्ठ नेता पौडेलले सरकारको एक वर्षको काम प्रभावकारी नभएको आरोप लगाए । सरकारले एक वर्षको समय त्यत्तिकै खेर फालेको टिप्पणी गर्दै पौडेलले सरकारले समयको सदुपयोग गर्न नसकेको बताए । उनले भने, “हिजो लाखको र करोडको भ्रष्टाचार सुनिन्थ्यो, आज अरबौका भ्रष्टाचारका कुरा बाहिर आएका छन् । त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।” वरिष्ठ नेता पौडेलले सरकारले ल्याएको रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने काम मात्रै भएको टिप्पणी गरे । रोजगारको विकल्प नभइकन रोजगार दिन्छु भन्नु कार्यकर्तालाई पैसा बाँड्ने काम भएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *