नेविसंघद्वारा तदर्थ समिति गठन गर्न माग

काठमाडौँ, २ फागुन । नेपाल विद्यार्थी संघका नेता र कार्यकर्ताले तदर्थ समिति गठन गर्न माग गरेका छन । उनिहरुले तदर्थ समिति गठन गर्न माग गर्दै बुधबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । कांग्रेस केन्द्रीय समिति बैठक जारी रहँदा बुधबार नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कार्यालयको मुल गेटमा धर्ना दिएका हुन् । निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले १२ औं महाधिवेशन गराउन सक्ने गरी ३२ वर्षे उमेरहद कायम राखेर तदर्थ समिति गठनका लागि दवाव दिन धर्ना दिएको बताए । नेविसंघले मंगलबार पनि पार्टी कार्यालयमा धर्ना दिएका थिए । सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरुले छिटो तदर्थ समिति बनाउन माग गरेका थिए । सोमबार नेविसंघ सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ ।
यसैबीच नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय तदर्थ समिति बनाउने तयारी थालेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टी सभापति शेरबहादुर देउवाले आवश्यक परामर्श गरी सङ्घको केन्द्रीय समिति गठन गर्न सक्ने निर्णय गरेको हो । गत माघ २ गते कार्यकाल समाप्त भएसँगै सङ्घको केन्द्रीय समिति हाल विघटित अवस्थामा छ । सङ्घका अध्यक्ष नैनसिंह महरले गत माघ २८ गते पदबाट राजीनामा दिएका थिए र सोही दिन उहाँको राजीनामा स्वीकृत भएको थियो । बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा पार्टीको महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव सुझावसहित परिमार्जन गरी पेश गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसको महासमिति बैठक गत मङ्सिर २८ पुस ८ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो । साथै भ्रातृ संस्था नेपाल आदिवासी जनजाति सङ्घ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक सङ्घ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको छ ।
बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राखेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही फागुन ९ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *