अबदेखी फागुन १ गतेलाई श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाइने


काठमाडौँ, २ फागुन । अबदेखी फागुन १ गतेलाई श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाइने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । बुधवार ’प्रधानमन्त्री रोजगार कार्यक्रम’ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बहुमतको सरकारले नेपाली जनताले चाहेको काम पुरा गर्न थालेको बताए । केही तत्वले भने यस्तो दिन देख्न नचाहेको प्रधानमन्त्रीको आरोप थियो । प्रम ओलीले भने, ’नेपाली जनताले आफैले बनाएको संविधान देख्न खोजेको हो । नेपाली जनताले संघीय लोकतान्त्रिक गणतन्त्र देख्न खोजेको हो । समावेशी लोकतन्त्र, समानुपातिक लोकतन्त्र, महिलाहरु अघि बढेको लोकतन्त्र, जनताले छानेका निकायहरु जनताले छानेको बहुमतको सरकार, त्यसअनुसारको गतिशिल सरकार नेपाली जनताले खोजेको हो । जसबाट नेपाल सुशासनतर्फ अघि बढ्यो।’सरकारले अब प्रत्येक फागुन १ गते श्रम दिवस र रोजगारी दिवसका रुपमा मनाइने उल्लेख गर्दै ओलीले विदेशसँग कुनै कार्ड प्रयोग नगरेकोसमेत बताए । असन्तुष्टि फैलाउने र भ्रम फिजाउँने काम अग्रगमनको पक्षमा नभएको उनको भनाई थियो । देश विकासको बाटोमा लम्केको उल्लेख गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम सफल हुने दाबी प्रधानमन्त्रीले गरे । ओलीले नेपालमा गरिबि र बेरोजगारी रहन नहुने बताए ।
यसैगरी बेरोजगार युवालाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने गरी सरकारले घोषणा गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को विभिन्न राजनीतिक दल आबद्ध युवा सङ्गठनले स्वागत गरेका छन् । बेरोजगार युवालाई रोजगार नभए भत्ता वितरण गर्नुपर्ने आवाज उठाउँदै आएका युवा सङ्घसङ्गठनले सरकारले घोषणा गरेको कार्यक्रम सफल बनाउन आआफ्नातर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत गरेका छन् । नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम् रोजगारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । युवासङ्घ नेपालका अध्यक्ष रमेश पौडेलले प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार युवालाई केही हदमा भएपनि रकम उपलब्ध गराउने बताए । उनले आफूहरुको प्रमुख मागमध्ये एक माग पूरा भएकाले अब बेरोजगारलाई भत्तासहित चाँडै नै सबै युवालाई सरकारले रोजगारतर्फ जोड्नुपर्ने बताए । “तमाम युवा बेरोजगार भएर निराश भएका थिए”, उनले भने, “प्रधानमन्त्री रोजगारले बेरोजगार युवालाई आशा जगाएको छ ।” उनले कार्यक्रमलाई चाँडै कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिँदै समाजवाद राज्यको आधारशीलाका रुपमा उक्त कार्यक्रमलाई लिइएको बताए । योङ कम्युनिष्ट लिग वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले मुलुकको सन्दर्भमा यो रोजगार कार्यक्रम ऐतिहासिक भएकाले आफूहरुले सकारात्मकरुपमा लिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *