विप्लव माओवादीद्वारा माघ २५ गते धादिङ बन्दको घोषणा, पक्राउ परेका नेता–कार्यकर्तालाई तत्काल रिहा नगरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी


काठमाडौँ, २५ माघ । नेत्र बिक्रम चन्द विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी धादिङले माघ २५ गते जिल्ला बन्दको घोषणा गरेको छ । जिल्लाका चारजना नेता–कार्यकर्तालाई सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा वालपेन्टिङ गर्दागर्दै सरकारले गिरफ्तार गरेको भन्दै बन्दको घोषणा गरेको हो । पार्टीका जिल्ला सेक्रेटरी बुद्धले बिहीबार प्रेसविज्ञप्ति प्रकाशित गरी माघ २४ गते मसालजुलुस र माघ २५ गते बन्द कार्यक्रम घोषणा गरेका हुन् । उनले गिरफ्तारीमा परेका कार्यकर्तालाई तत्काल रिहा नगरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् । युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य कुवेर घिमिरे (सुरक्षा), युवा सङ्गठन धादिङका अध्यक्ष ईश्वर श्रेष्ठ (चट्टान) र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ धादिङका त्रिचन्द्र देवकोटा (इच्छुक) सहित तीनजनालाई बुधबार सिद्धलेक गाउँपालिका पुङ्चुङबाट वालपेन्टिङ गर्दागर्दै गिरफ्तार गरेको थियो ।
यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारका जनकलाकार कुमार थामी र लक्ष्मण तामाङलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई पाँचथर जिल्लाको श्री दुर्गा मावि रविबजारबाट प्रहरीले गिरफ्तार गरेर फिदिम लगेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले जनाएको छ ।नेपाल कम्युनिस्ट पार्टी निकट महासङ्घका महासचिव खेम थपलियाले बिहीबार प्रेसविज्ञप्ति प्रकाशित गरी उक्त विषयमा ध्यानाकर्षण गराएका छन् ।उनले गिरफ्तार जनकलाकारहरूलाई यथाशीघ्र रिहा गर्न माग पनि गरेका छन् । महासङ्घले आफ्ना कार्यकर्ताहरु रिहा नगरिए सरकारविरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी पनि दिएको छ । त्यसबाट उत्पन्न हुने परिस्थितिको भागीदार स्वयम् सरकार हुने चेतावनी महासङ्घले विज्ञप्तिमार्फत दिएको हो ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगलीले आफनो सङ्गठनका केन्द्रीय सदस्य कुबेर र धादिङ जिल्ला अध्यक्ष चट्टानलाई बिनाकारण गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पाटनले स्वन्त्ररुपमा आन्दोलन गर्ने नागरिकको अधिकारमा सरकारले प्रतिबन्ध लगाएको बताएका छन् । सरकारले भ्रष्टाचारलाई संस्थागत गरिरहेको र जनप्रतिनिधिको नाममा सत्ताले वैधता दिइरहेकोले त्यसका विरुद्ध आन्दोलन गरिरहेको बेला आफ्नो पार्टीका नेताकार्यकर्ता गिरफ्तार गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । अभियानको सिलसिलामा रहेका आफना नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरेको भन्दै विनाशर्त रिहा नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।
त्यसैगरी बुधबार अर्घाखाँचीको छत्रदेव गाउपालिका ४ केरुङ्गाबाट नेकपाको अभियानकै क्रममा गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंह, सेक्रेटरी खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य पिताम्बर पोखरेल र टुकलाल पुनलाई प्रहरीले गिरफ्तार गरेको गिरफ्तारीपछि नेकपा लुम्बिनी व्युरो कडा शव्दमा भर्सना गरेको छ । विनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्यूरोले एक विज्ञप्ति जारी गर्दै तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनी दिएको छ । व्यूरो इन्चार्ज वीरजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।‘गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गरियोस् । रिहा नगरिए लुम्बिनी व्युरो बन्द सहितको कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं । यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने यसै प्रेश विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *