पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको दावी


काठमाण्डौ, २५ माघ । पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दावी गरेका छन । नयाँ शक्ति पार्टी नेपालको जनसंवाद यात्रा–२०७५ अन्तर्गत सिन्धुपाल्चोकको मेलम्चीमा बिहीबार भएको कार्यक्रममा उनले राजनीतिक शुद्धीकरणसहित आर्थिक वृद्धिदर सुधार्न सकेमा पाँच वर्षभित्र नेपालमा परिवर्तन सम्भव भएको दावी गरेका हुन । कार्यक्रममा उनले नेपालको विकास नहुनुमा राजनीतिक आडमा भष्ट्राचार मौलाउँदै जानु प्रमुख कारण रहेको बताए । विभिन्न राजनितिक दलका कार्यकर्ता, उद्योगी, व्यवसायी तथा समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसेलगायतले आफ्नो धारणा राखेका थिए । स्थानीय तहका समस्या र सम्भावना, विकास र समृद्धिको मार्गचित्र, असल राजनीतिज्ञका गुण, सङ्घीयता कार्यान्वयनमा देखापरेका चुनौतीलगायतका विषयमा जनसंवाद कार्यक्रम आयोजना गरिएको नयाँ शक्ति पार्टी नेपालका जिल्ला संयोजक भरत अधिकारीले जानकारी दिए ।
नयाँ शक्ति पार्टी, नेपालले यही माघ १५ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान संचालन गरेकोे छ । ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै यही १५ गते मंगलबारदेखि मध्यपहाडि लोकमार्ग अन्तरगत पूर्वमा पाँचथरको चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म एक महिने ‘जनसंवाद यात्रा’ अभियान संचालन गर्दै आएको छ ।असल राजनीति, विकास र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन जनतासँगै संवाद गरेर सुझाव दिन सो अभियान सञ्चालन गरेको जनाएको छ । हिमाल, पहाड र तराईका सबै जिल्लालाई छुने भएकाले सो अभियान मध्य पहाडी लोकमार्ग भित्र संचालन गरिएको हो । लोकतन्त्रलाई अझै समृद्ध बनाउन पनि अभियानले सघाउ पु¥याउने नयाँ शक्ति पार्टी, नेपालको दावी रहेको छ । अभियानमा पार्टी संयोजक भट्टराईको नेतृत्वमा पार्टी हेडक्वाटरका नेताहरु, सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरुको सहभागीता रहेको छ ।‘जनसंवाद यात्रा’ अभियानका क्रममा पार्टीले स्थानीय स्तरमै जनसभा, जनसंवादलगायतका कार्यक्रम संचालन गर्नेछ ।अभियानका क्रममा जनताले दिएको सुझाव संघीय सरकार र प्रदेश सरकारलाई पनि जानकारी गराइने योजना रहेको छ । जनताकै सहभागितामा मुलुकको समृद्धिको अभियानलाई अघि बढाउन पनि सो अभियानले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *