विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहितको टोली पक्राउ, तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनी


काठमाडौँ, २४ माघ । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्लाका नेता कार्यकर्ताहरूको टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको छ ।शान्तिपूर्ण भेटघाट कार्यक्रम गरिरहेको बेला गुल्मीमा रहेको नेकपाको अभियान टोलीलाई नै प्रहरीले गिरफ्तार गरेको हो । गुल्मी–अर्घाखाँचीमा अभियान चलाइरहेको टोलीलाई हस्तक्षेप गरी टोलीका नेता तथा पार्टी गुल्मी जिल्ला इन्चार्ज पूर्णबहादुर सिंहसहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ । साथै गुल्मी सेक्रेटरी खेम खड्का, अर्घाखाँची जनसरकार प्रमुख पिताम्बर पोख्रेल र टुकलाल पुनलगायत अभियान टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।नेकपाका नेताहरूलाई शारदा मावि छत्रदेव गाउँपालिका ४ अर्घाखाँचीबाट गिरफ्तार गरिएको स्रोतले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको छ ।प्रहरीले विभिन्न बहाना बनाएर अभियान टोलीलाई नियन्त्रणमा लिएको भन्दै नेकपाले गिरफ्तारीको निन्दा गरेको छ । विनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी व्यूरोले एक विज्ञप्ति जारी गर्दै तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनी दिएको छ । व्यूरो इन्चार्ज वीरजंगद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘गिरफ्तार गरिएका हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गरियोस् । रिहा नगरिए लुम्बिनी व्युरो बन्द सहितको कडा सङ्घर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं । यसबाट निस्कने परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने यसै प्रेश विज्ञप्ति मार्फत जानकारी गराउँदछौं ।’
देशभर संगठन निर्माणमा तिव्रता दिएको नेकपाले पछिल्लो समय अभियान चलाईरहेको थियो । केही दिन अगाडि मात्रै सोही पार्टी्निकटको विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
यसैगरी जाजरकोटमा पूर्वमाओवादी केन्द्रको वर्चस्व भएको गाउँ नै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको छ ।जाजरकोटको नलगाड नगरपालिकाको बडा नं. १ चिउरीमा पूर्वमाओवादी केन्द्रको वर्चस्व रहेको एउट पूरै गाउँ नेकपामा समाहित भएको भएको छ । उक्त गाउँमा पूर्वमाओवदी केन्द्रका हीरालाल परियारसहित २२ जना नेकपामा प्रवेश गरेका छन् ।यस्तै जानकी परियार, गणेश महर, जयबहादुरलगायत पूरै गाउँ नै नेकपामा प्रवेश गरेको छ ।उक्त गाउँमा आइतबार सभा आयोजना गरी अभियानटोलीले उनीहरूलाई नेकपामा समाहित गराएको हो ।उक्त सभालाई जाजरकोटमा अभियान टोलीको नेतृत्व गरिरहेका नेपाका नेता महेन्द्र र सङ्गमले सम्बोधन गरेका थिए । नेकपा निकट युवा सङ्गठनका अर्जुनलगायत १५ जनाको अभियान टोली पनि सभामा सहभागी थियो ।अभियानको नेतृत्व गरिरहेका नेकपाका महेन्द्रले पूर्वीभागमा अभियान सिध्याएर डाँडागाउतिर अभियान सञ्चालन भैरहको जानकारी दिए ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी सल्यानले एकीकृत जनक्रान्तिका लागि जनतालाई लामबद्ध बनाउँदै लगेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत सल्यानमा जनताले राम्रो साथ दिएको नेकपा सल्यानले जनाएको छ । जिल्लाका विभिन्न ठाउँमा सङ्गठन विस्तारका लागि टिम छुट्ट्याएर प्रशिक्षण दिइरहेको जानकारी नेकपा सल्यानका इन्चार्ज विश्वले दिए । सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान र प्रशिक्षणका लागि नेकपाका केन्द्रीय सदस्य मिलन, सल्यान जिल्ला इन्चार्ज विश्व, दैलेख जिल्ला इन्चार्ज विवेक, युवा सङ्घका केन्द्रीय सदस्य पाटन, अनेमसङ्घ क्रान्तिकारी राप्ती ब्युरो संयोजक हेमन्ता, नेकपाका सल्यान जिल्ला सदस्य टाइगर, मोहनपुरुष, टोपबहादुर केसी लागयतको टिम गाउँगाउँमा खटिएका छन् । उनीहरूले जनतालाई आफ्नो पार्टीले अघि बढाएको एकीकृत जनक्रान्तिलाई साथ दिन आग्रह गरेका छन् ।
अभियान टिमले मङ्गलबार एकै दिन १७ वटा सङ्गठन निर्माण गरेको छ । जिल्लाको बागचौर नगरपालिका ६ दुदिलाबोटमा प्रशिक्षणबाट तिलक ओली सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति र जयप्रकाश ओली संयोजक रहेको ९ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ । वडा नम्बर ४ मा शेरबहादुर ओली सेक्रेटरी रहेको १३ सदस्यीय वडा समिति र खगेन्द्र ओलीको अध्यक्षतामा ९ सदस्यीय युवा सङ्गठन निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।
त्यस्तै छत्रेश्वरी ४ मा गीता केसीको अध्यक्षतामा ९ सदस्यीय महिला वडा समिति बनेको छ । वडा नम्बर ३ मा नारायणी ओलीको अध्यक्षतामा ७ सदस्यीय महिला वडा समिति बनाइएको छ । वडा नम्बर ३ मै कृष्णा पुनको अध्यक्षतामा ५ सदस्यीय ज्यामिरे टोल एकाइ समिति, रूपा पुनको अध्यक्षतामा ५ सदस्यीय बुलबुले टोल एकाइ समिति र हरिकला कुँवरको अध्यक्षतामा ५ सदस्यीय सिंगारीकोट महिला एकाइ समिति निर्माण गरिएको नेकपा छत्रेश्वरी गाउँ समितिले जनाएको छ ।
उता दार्मा गाउँपालिकाको वडा नम्बर १ मा पूर्णबहादुर सुनार सेक्रेटरी रहेको ९ सदस्यीय वडा समिति, झकेन्द्रबहादुर परियारको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन, निशा रोकायको संयोजकत्वमा ७ सदस्यीय महिला वडा समिति बनाइएको छ । शान्ता कटुवालको संंयोजकत्वमा ९ सदस्यीय दार्माकोट गाउँ एकाइ समिति र चक्रे कामीको संयोजकत्वमा ७ सदस्यीय किसान सङ्गठन निर्माण गरिएको नेकपा दार्मा गाउँ समितिले जनाएको छ ।
यसैबीच सरस्वती मावि बागचौर फेदीखोलामा चन्द्रप्रकाश केसीको अध्यक्षतामा ४५ जना विद्यार्थी सङ्गठन विस्तार गरिएको छ । रागेचौर मावि कुमाख गाउँपालिकामा दीपक रावतको अध्यक्षतामा ११ सदस्यीय विद्यार्थी सङ्गठन बनाइएको छ भने गुँरासे माविमा नविक केसीको अध्यक्षतामा ३५ सदस्यीय विद्यार्थी सङ्गठन विस्तार गरिएको अखिल क्रान्तिकारी सल्यानले जनाएको छ ।
यता नेपाल कम्युनिस्ट पार्टीले उपत्यकाका तीन वटै जिल्लामा ‘सङ्गठन सुदृढीकीकरण तथा विस्तार अभियान–२’ तीव्र पारेको छ ।पार्टीको उपत्यका विशेष ब्युरोले आफ्ना जिल्लाहरूमा अभियान तीव्र गतिमा अगाडि बढाएको हो । अभियानको प्रभाव निकै बाक्लो परेको अभियानमा सहभागीहरूले जनाएका छन् ।काठमाडौँको नागार्जुन नगरपालिका ८ को घट्टेखोलामा स्थानीय स्तरमा सभा र बैठक सम्पन्न भएको छ । घट्टेखोलास्थित द स्यारोन स्प्रिङ मिनिरल वाटर एन्ड बेभरेज इन्डस्ट्रिजमा एकाइ समिति गठन गरिएको समाचारमा जनाइएको छ । टोलीमा सहभागीहरूले स्थानीयको घरमा निःशुल्क श्रमसमेत गरेका छन् ।
प्राप्त समाचारअनुसार रीता गिरीको अध्यक्षतामा ७ सदस्यीय महिला समिति गठन भएको छ । सचिवमा स्मृति तामाङ, कोषाध्यक्षमा सुष्मा गिरी, सदस्यहरूमा कौशिला गिरी, सुष्मा गिरी, अमृता गिरी र भावना बुढाथोकी छन् । सुरेन्द्र महर्जनको नेतृत्वमा पुगेको अभियान टोलीको पहलमा समिति गठन गरिएको जानकारी पत्रकार जितेन्द्र महर्जनले दिएका छन् । सभामा नागार्जुन नगरपालिका सेक्रेटरी महेन्द्र तामाङ, युवा सङ्गठनका कुमारलगायत नेताहरूको उपस्थिति थियो । ग्रामीण क्षेत्र रहेको यस भेगमा टोलीले पैदल हिँडेर अभियान चलाइरहेको छ ।अभियानबाट स्थानीय बासिन्दा उत्साहित भएका छन् । उनीहरूले आफूहरू हरेक सरकारबाट भएका भ्रष्टाचार र दलालीले हैरान भइरहेको बेलामा नेकपाले चलाएको अभियानमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *